विरोध र तोडफोडकाबीच जीतपुरसिमराको नगरसभा सम्पन्न

बारा- बाराको १६ स्थानीय तहले असार १० भित्रै नगरसभा गरेका छन् । स्थानीय पालिकाले असार १० मा नीति तथा कार्यक्रम र बजेट नगरसभामार्फत ल्याउनुपर्ने र असारभित्रै पास गर्नुपर्ने प्रावधान भएपनि विगतमा बाराका स्थानीय तहमा विवाद हुँदा आधाले मात्र समयमा सम्पन्न गर्न सकेका थिए ।

गतबर्ष धेरै विवादित भएको सिम्रौनगढ, पचरौता र महेन्द्र आदर्श गाउँपालिकाले यसबर्ष समयमै नीति तथा कार्यक्रम ल्याएका छन् । जबकी यी तीनै पालिकाले समयमै बजेट ल्याउन सकेका थिएनन् ।

जीतपुर सिमरा उपमहानगरमा नेकपा एमाले, नेपाली काग्रेस र लोसपाबाट निर्वाचित वडाध्यक्ष सहितका कार्यपालिकाको विरोध र तोडफोडकाबीच नगरसभा सम्पन्न गरेको छ । काग्रेस, एमाले र लोसपाकै केही जनप्रतिनिधिहरुको सहयोगमा बैठकको गणपुरक संख्या पुर्‍याइएको थियो ।

नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको नगरसभा बैठकमा एमाले, कांग्रेस र लोसपाबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप र तोडफोड भएको थियो ।

नगरप्रमुख राजन पौडेलको दल माओवादी केन्द्रबाहेक कांग्रेस, एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए । त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो ।

सोमबार पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले, काग्रेस र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए । नगरमा आर्थिक वर्ष २०८१-२०८२ मा कुल वजेट २ अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ । ५७ करोड ३ लाख घटी आय अनुमान गरेको बजेटमा शिक्षा र स्वास्थ्यलाई बिशेष जोड दिएको छ ।

नगरसभा निति तथा कार्यक्रम बजेट बाचनकै क्रममा वडाअध्यक्षहरुले माईक खोस्ने र तोडफोड गरेपछि नगरप्रमुख पौडेलले माईक विनानै नगरसभा सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

घोषणापछि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरप्रमुखलाई बिरोध गर्दै कार्यक्रमस्थलबाट करिब तीन घण्टा बाहिर निस्कन दिएका थिएनन् । पछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने सहितको टोलीले कार्यक्रमस्थलबाट नगरप्रमुखलाई बाहिर निकाल्न सफल भएका थिए ।

कार्यक्रमस्थलमा तोडफोडको क्षतिको विवरण आउन बाँकी छ । नगरप्रमुख पौडेलले बजेट पास भएसँगै केही दिनमै प्रमुख प्रशासकीय अधिकृतलाई नगरसभाले पास गरेको बजेटको प्रमाणिकरण गरी काम अघि बढ्ने बताउनु भएको छ ।

यता अर्को समुहको नेतृत्व गरेका उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरसभामा उपस्थित नभई अन्तैबाट हस्ताक्षर गरेर अबैध तवरले नगरसभा गरेको बताउनु भएको छ । उहाँले ठुलो हिस्सा जनप्रतिनिधिलाई बाहिर राखेर २५ प्रतिशतले उपमहानगर चल्न नसक्ने बताउनु भएको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिकाले १३औं नगरसभा सम्पन्न गरेको छ । सभामा नीति कार्यक्रमलाई उपमेयर रौषन प्रविणले प्रस्तुत गर्नुभएको थियो । उपमेयर प्रविणले कलैयाको आ.व. २०८१-०८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गर्नुभएको छ ।

त्यस्तै बाराको बारागढी गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ को लागी ३९ करोड ३९ लाख ७३ हजारको अनुमानित बजेट ५औँ गाउँसभामार्फत सार्वजनिक गरेको छ । पालिका उपाध्यक्ष लक्ष्मी देवी रायले प्रस्तुत गर्नुभएको बजेटमा युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि र पशुपालन व्यावसायिकता उन्मुख विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै बाराको बिश्रामपुर गाउँपालिकाले १५औँ गाउँसभामार्फत आर्थिक बर्ष २०८१-८२ को बजेट प्रस्तुत गरेको छ । विश्रामपुर गाउँपालिकाकी उपाध्यक्ष प्रियंका देवी १९ करोड ५५ लाख ६४ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

यसअघि बाराको महागढीमाई नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । नगरका मेयर उपेन्द्र प्रसाद यादबले नीति तथा कार्यक्रममार्फत ७७ करोड ५४ लाख ५ सय बराबरको अनुमानित बजेट प्रस्तु गर्नुभएको हो ।

त्यस्तै सुवर्ण गाउँपालिका बाराद्वारा आ.व. ०८१-०८२ को नीति कार्यक्रमसहित ३९ करोड १ लाख १७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गतबर्ष अन्तिमसम्म नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको सिम्रौनगढ नगरपालिकाले यसबर्ष समयमै ६४ करोड ७२ लाख ३६ हजार बिनियोजन गर्दै नगरसभा गरेको छ ।

त्यसैगरी निजगढ नगरपालिकाको नगर सभाको चौधौं अधिवेशनको प्रथम बैठक निजगढ नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा सम्पन्न भएको छ ।

उक्त बैठकमा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले निजगढ नगरपालिकाको आगामी आ.ब. २०८१-०८२ को नीति तथा कार्यक्रम एवम् निजगढ नगरपालिकाका उपप्रमुख श्री सोममाया थिङ्गले कुल बार्षिक बजेट रु. ९० करोड एक लाख मात्र बजेट सर्वसम्मतिले पारीत गरेको छ । कोल्हबी नगरपालिकाले पनि नगरसभा सम्पन्न गरेको नगरप्रमुख रामप्रसाद चौधरीले बताउनु भएको छ ।

गतबर्ष समयमा बजेट ल्याउन नसकेको आदर्श कोतवाल गाउँपालिकाले ४५ करोड ५२ लाख ७८ हजारको बजेट ल्याएको छ । गाउँपालिकाको नव निर्मित भवनमा आयोजित १२ औं गाउँ सभामार्फत गाउँपालिका प्रमुख जवाहर प्रसाद साहले बजेट प्रस्तुत गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.