ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मंगलबार मन्त्रालय र मातहत निकायका काम कारबाहीबारे जानकारी लिनुहुँदै उहाँले दीर्घकालीन र दिगो खानेपानी योजना विकास तथा कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

प्रविधिको नवीनतम प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै उहाँले सुरक्षित खानेपानीको महत्वबारे जनचेतना जगाउने कार्यक्रम अगाडि बढाउनसमेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

“सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो मुख्य प्राथमिकता हो । आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्न र मन्त्रालयका कामकारबाहीलाई पारदर्शी एवं उत्तरदायी बनाउनुपर्नेछ । यसकार्यमा म सधैँ प्रतिबद्ध छु । सोहीअनुसार तपाईंहरूबाट पनि सहयोगको अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो ।

अनुगमन, मूल्याङ्कन र कार्यसम्पादनको प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि आवश्यक रहेकामा उहाँको जोड थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.