मन्त्रिपरिषद बैठकका निर्णयहरु (सूचीसहित)
काठमाडौं- सरकारले मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले बागमती, लुम्विनी र कर्णाली प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरी वागमतीमा दीपक प्रसाद देवकोटा, लुम्विनीमा कृष्णबहादुर घर्ति मगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले २२ जना सचिवको सरुवा गरेको जानकारी पनि प्रवक्ता गुरुङले दिनुभयो । बैठकले १८ देशहरुका लागि आवासीय नेपाली राजदुतको नियुक्तिको लागि सिफारिस गरेको छ ।
जसअनुसार भारतका लागि शंकरप्रसाद शर्मा, अष्ट्रेलियाको लागि कान्ता रिजाल, साउदी अरेबियामा नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकामा प्रा डा कपिलमान श्रेष्ठ, इजरायलमा धन प्रसाद पण्डित, श्रीलंकामा रामकृष्ण भट्टराई, स्पेनमा शनिल नेपाल, जर्मनीमा शैल रुपाखेती, संयुक्तराज्य अमेरिकामा लोकदर्शन रेग्मी, संयुक्त अधिराज्यमा चन्द्रकुमार घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्वाहाम्फे, रुसमा जंङ्गबहादुर चौहान, कतारमा रमेशचन्द्र पौडेल, चीनमा कृष्णप्रसाद ओली, डेनमार्कमा सुम्निमा तुलाधर, मलेशियामा नेत्रप्रसाद तिमिल्सिना, पोर्चुगलमा प्रकाशमणी पोखरेल र पाकिस्तानका लागि रिता धिताल रहनु भएको छ ।
त्यसैगरी बैठकले नेपाली सेनाको बलाधिकृत रथी अशोकराज सिग्देललाई साउन २५ गते देखी लागु हुने गरी कायममुकायम भइ प्रधान सेनापतिको कार्यभार समाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय र कार्यक्रमहरूको लागि आव २०८१/८२ का लागि आवश्यक राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत आर्थिक बर्क्ष २०८१/८२का लागि राजपत्रांकित श्रेणी वा सो सरहका ५९ अस्थायी दर्बन्दी स्विकृति प्रदान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्