कालिज फार्ममा स्याल पसेपछि…
रुकुम पुर्वमा रहेको एक कालिज फार्ममा स्याल पसेर सखाप बनाएको छ । व्यावसायिक रुपमा कालिज पालन गर्दै आएको लुम्मा बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी फार्ममा स्यालको आक्रमणबाट धेरै कालिज मरेका छन् ।
भुमे गाउँपालिका वडा नम्बर-९ चुन्बाङमा पदम पुनको लुम्मा बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी फार्ममा रहेको कालिज फार्ममा जंगली जनावर स्यालले बार लगाएको ठाउँबाट भित्रका छिरेर कालिज मारेको हो ।
विगत एक बर्षअघि तीन सय कालिजका चल्ला खरिद गरी व्यवसायीक रुपमा कालिज पालन गरिए पनि पटक पटक जंगली जनावरले क्षति पुर्याउँदै आइरहेको फार्म संचालक पुनले बताउनुभयो ।
आइतबार दिउँसो काममा गएको मौका पारी स्यालले फार्ममा १९ वटा कालिजहरु मारेको हो । एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय रुकुमपूर्वको ३ लाख अनुदान र पुनको करिब ६ लाख बराबरको लगानीमा उक्त कालिज पालन सुरु गरिएको बताइएको छ ।
कालिज फार्ममा जंगली जनावरले पटकपटक क्षति गर्दा आफूले हैरानी खेपिरहनु परेको पुनले बताउनुभयो । यसबारे स्थानीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि कसैले केही चासो नदेखाएको बताउँदै अब फार्म नै बन्द गर्ने अवस्थामा पुगेको पुनले दुखेसो गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्