हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन
काठमाडौँ- नुवाकोटमा आज भएको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।
समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेको र आयोगलाई प्रतिवेदन बुझाउन ३० दिनको समय सीमा तोकिएको सरकारका प्रवक्ता एवम संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
आज दिउसो नुवाकोटको शिवपुरी गाँउपालिका- ७ सूर्याचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा चार जना चिनियाँ नागरिक साथै क्याप्टेन अरुण मल्ल रहनु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्