विचारः ओलम्पिकमा नेपालको सहभागिता, सहभागितामै सीमित

काठमाडौँ –  फ्रान्सको राजधानी पेरिसमा आयोजित ३३ औँ गृष्मकालीन ओलम्पिकमा नेपालको प्रतिस्पर्धाको समाप्तिसँगै नेपाली खेलाडीहरुको खेल प्रदर्शनको यथोचित समीक्षा हुनु आवश्यक भएको महसुस गरिएको छ । गत साउन ११ गते सुरु भएको पेरिस ओलम्पिकका प्रतियोगिता आजसम्म सञ्चालन गरिएको थियो । ओलम्पिकमा नेपालले हासिल गरेको नतिजासँगै मुलुकको प्रतिष्ठा पनि गाँसिएकाले यस्ता विषयलाई नेपाल सरकारले प्राथमिकतामा दिनुपर्ने देखिन्छ ।

ओलम्पिकमा सहभागी खेलाडीहरुका साथै प्रशिक्षक, खेल पदाधिकारीलगायत नेपालको प्रतिनिधित्व गर्ने सबैले आगामी ओलम्पिकमा यसपटकको जस्तो नतिजा नदोहरियोस् भनी तत्काल प्रतिबद्धता व्यक्त व्यक्त गर्नाका साथै यथोचित पहल गर्नु जरुरी मानिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बहाली गर्नु भएलगत्तै ओलम्पिकको उद्घाटन समारोहमा सरिक हुनाका साथै केही नेपाली खेलाडीको खेल हेर्ने अवसर पाउनु भएको थियो । उहाँले पेरिसमा देख्नुभएको प्रत्यक्ष अवस्थाका साथै ओलम्पिकमा पदक प्राप्तिका लागि कस्तो पहल आवश्यक हँुदोरहेछ भन्ने अनुभवको आधारमा आगामी ओलम्पिकको लागि पदक लक्षित कार्ययोजना बनाउन जोड दिनुहुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिकमा नेपालको प्रदर्शनबारे अध्ययन गर्ने कार्यदल गठन गर्ने भएको छ । पेरिस ओलम्पिकमा नेपाली खेल टोलीको सेभ दी मिसन रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले परिषद्को आगामी बोर्ड बैठकमा ओलम्पिकमा नेपाली खेलाडीहरुको प्रदर्शनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु हुने जानकारी दिनुभएको छ । पेरिस ओलम्पिकमा सहभागी भएका सातमध्ये छजना नेपाली खेलाडीको खेल प्रदर्शन प्रत्यक्ष अवलोकन गर्नुभएका सदस्यसचिव घिसिङले दीर्घकालीन प्रशिक्षण योजना बिना नेपालले ओलम्पिकमा पदक प्राप्त गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । कम्तीमा एउटा ओलम्पिक समाप्त भइसकेपछि अर्को ओलम्पिकलाई लक्षित गरेर प्रशिक्षण सञ्चालन गर्नसके मात्र पनि आगामी ओलम्पिकमा सन्तोषजनक प्रदर्शन हुन सक्ने उहाँको अपेक्षा रहेको छ ।

नेपालमा सरकार परिवर्तनपिच्छे नेपालको खेलकुदको आधिकारिक निकाय राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीको परिवर्तन हुने, अघिल्ला पदाधिकारीले सञ्चालन गरेका खेल योजनालाई पछिल्ला पदाधिकारीले निरन्तरता नदिने प्रवृत्तिले पनि नेपालको खेल क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ २०६३ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दोस्रोपटक सदस्यसचिव हुनुहुँदा ओलम्पिकको पदकलाई लक्षित गरी ‘भिजन २०२०’ योजना अघि सारिएको थियो । उक्त योजना अघि बढाउन परिषद्ले छुट्टै कार्यालय स्थापना गरी खेल विज्ञहरु समेत खटाएको थियो । तर त्यसपछि बहाली भएका सदस्य–सचिवहरुले त्यो योजनालाई निरन्तरता नदिंदा ओलम्पिकमा नेपालले औपचारिकताका लागि मात्र भाग लिने क्रमले निरन्तरता पाइरहेको छ ।

ओलम्पिक भनेको विश्वस्तरीय खेलकुद प्रतियोगिता हो । कुल एक हजार ३३ पदकका लागि लागि विश्वका दुई सय ६ राष्ट्रका १० हजारभन्दा बढी खेलाडीले विभिन्न ३२ खेलका तीन सय २९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । यस्तो महत्वपूर्ण प्रतियोगितामा सानो लगानीले उचित प्रतिफल हासिल गर्न त्यति सजिलो छैन । सर्वप्रथम त ओलम्पिक नेपाल सरकारको प्राथमिकतामा छ कि छैन प्रस्ट हुन जरुरी छ । ओलम्पिकका लागि कति बजेट बिनियोजन गरिएको छ, यसबाट पनि नेपालको ओलम्पिकलाई प्राथमिकता प्रस्ट हुन सक्दछ ।

राष्ट्रिय खेलकुद परिषद्को बजेटको अधिकांश हिस्सा कर्मचारीको तलवमा खर्च हुने गरेको छ । स्वदेशभित्र प्रतियोगिताको आयोजनाको कमी तथा वैदेशिक सहभागिता घट्दो जस्ता कारणले नेपालको अन्तर्राष्ट्रिय पदक प्राप्तिमा कमी हुन गएको देखिएको छ । राष्ट्रिय खेलकुद परिषद्को मुलुकभरि विभिन्न जिल्लामा भौतिक सम्पत्ति जगेर्ना गर्न नसकिएको अवस्थामा भएता पनि सीमित खेलकुदका लागि समेत आवश्यक भौतिक पूर्वाधार पर्याप्त छैनन् ।

विगत ६० वर्षदेखि गृष्मकालीन ओलम्पिकमा भाग लिइरहेको नेपालले यसपालि पेरिस ओलम्पिकमा पनि उपलब्धिमूलक नतिजा हासिल गर्न सकेन । नेपालले यो ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडी पठाएको थियो । नेपालले सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकदेखि ओलम्पिक प्रतियोगितामा भाग लिन सुरु गरेको थियो । तर प्रत्येक चार वर्षमा आउने ओलम्पिकमा भाग लिन टोली पठाउन नछुटाउने नेपालले नेपालभन्दा सानो अवस्थामा रहेका मुलुकले पदक हासिल गर्दा समेत पदकका लागि कुनै ठोस पहल नगर्नु चाहिँ निकै गम्भीर विषय हो ।

प्रतियोगिता आउनु केही समयअघि खेलाडीहरु जम्मा गरी गरिएको प्रशिक्षणले ओलम्पिक जस्तो प्रतिष्ठित प्रतियोगितामा पदक जित्न सकिँदैन भन्ने कुरामा नेपालका खेलकुद अधिकारीहरु अनभिज्ञ छैनन् । नेपालका कैयौँ खेलकुद पदाधिकारीहरु लामो समयदेखि खेल क्षेत्रमा संलग्न रहँदै आएका छन् तर सानैदेखि ओलम्पिक लक्षित खेलाडी तयार बनाउने कुरामा नेपाली खेल क्षेत्र पछि परिरहेको छ । यसपटक दक्षिण एसियाली मुलुक पाकिस्तानका ज्याभलिन थ्रोका खेलाडी अर्शद नदिमले आफ्नो मुलुकका लागि ४० वर्षपछि स्वर्ण पदक जिते । तर नेपाली खेल टोलीका लागि स्विमर अलेक्जेण्डर शाहको राष्ट्रिय कीर्तिमानबाहेक अन्य गौरव गर्ने विषय रहेन । नेपाललाई ओलम्पिकमा सहभागिताका लागि निमन्त्रणा प्राप्त हुनासाथ खेलाडी पठाउनुभन्दा विश्व मानचित्रमा नेपालको त्यो खेलको अवस्थाको मूल्याङ्कन गर्नु पनि जरुरी भएको छ ।

पेरिस ओलम्पिकमा नेपालको प्रदर्शन

एथलेटिक्सतर्फ ओलम्पिकको अन्तिम दिन सम्पन्न महिला म्याराथुन दौडमा नेपालकी सन्तोष श्रेष्ठ भएकी ७९औँ भएकी छिन् । सन्तोषी श्रेष्ठले ४२।१९५ किलोमिटर दूरी दुई घण्टा ५५ मिनेट शून्य छ सेकेन्ड अवधिमा सम्पन्न गरेकी थिइन् । नेपालले हालसम्म भाग लिएका ओलम्पिकहरुमा सबैभन्दा धेरैपटक एथलेटिक्सका खेलाडीले सहभागी हुने अवसर पाएका छन् । सन् १९६४ मा जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकमा पहिलोपटक भाग लिँदा दुईजना म्याराथुन धावकलाई सहभागी गराएको थियो । त्यसपछि नेपाली एथलेटिक्स खेलाडीहरुले विभिन्न ओलम्पिकमा सहभागिता जनाएका छन् । नेपाली धावक बैकुण्ठ मानन्धर ओलम्पिकमा चारपटक भाग लिएका पहिलो नेपाली खेलाडी बन्न पुगे ।

एथलेटिक्स

नेपालमा खेलिने आधुनिक खेलहरुमा एथलेटिक्स सबैभन्दा पुरानो खेल मानिएको छ । २००४ सालमै नेपाल एमेच्योर एथलेटिक्स सङ्घको स्थापना भइसकेको थियो । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको पहिलो खेल पनि एथलेटिक्स नै थियो तर यति लामो इतिहास भएको एथलेटिक्समा ओलम्पिकमा हामी कुन अवस्थामा रहेछौँ भन्ने सन्देश पेरिस ओलम्पिकले दिएको छ ।

टेबुल टेनिस

नेपालले यसपालि पहिलोपटक ओलम्पिकमा टेबुल टेनिसमा भाग लिएको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जितेर पेरिस ओलम्पिकमा सहभागी भएका खेलाडी श्यान्टु श्रेष्ठ प्रिलिमिनरी राउन्डको पुरुष सिङ्गल्समा सेनेगलका इब्राहिम डिउसँग ४–० को सोझो सेटमा पराजित भएका थिए । उनी १२–१०, ११–३, ११–४ र ११–५ ले हारेका थिए ।

तत्कालीन राणाशासनकालमै भित्रिएको टेबल टेनिस खेलमा नेपालले हालसम्म कति प्रगति गरेछ भन्ने ओलम्पिकको नतिजाले बताउँछ । २००७ सालमै गठन भएको अखिल नेपाल टेबल टेनिस सङ्घले वर्तमान अवस्थासम्म नेपालको खेलस्तर माथि उडाउन गरेको प्रयासको मूल्याङ्कन हुन जरुरी छ । नेपालले टेबल टेनिसमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिएको लामो समय भइसकेको छ । सन् १९५२ मा भारतको मुम्बईमा सम्पन्न विश्व टेनिस प्रतियोगितामा नेपालले भाग लिएको थियो । नेपालले सन् १९७५ मा पहिलोपटक अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता आयोजना गरेको थियो ।

ब्याडमिन्टन

ओलम्पिकको ब्याडमिन्टनमा पनि पहिलोचोटि भाग लिएको नेपाल लिग चरणबाटै बाहिरिन पुग्यो । नेपाली खेलाडी प्रिन्स दहालले लिगका कारण अन्य नेपाली खेलाडीले भन्दा धेरै खेलाडीसँग खेल्ने मौका पाएका थिए । उनी समूह चरणको तीनवटै खेलमा पराजित भएका थिए ।

विश्व वरियतामा १७२औँ स्थानमा रहेका प्रिन्स समूह चरणको अन्तिम खेलमा विश्व बरियतामा ५८औँ स्थानमा रहेका इजरायलका मिसा जिल्बरम्यानसंँग २१–१२ र २१–१० को सोझो सेटमा पराजित गरेका थिए । प्रिन्स पहिलो खेलमा विश्व नम्बर दुई खेलाडी डेनमार्कका भिक्टर एक्सेल्सेनसँंग २१–८ र २१–६ तथा दोस्रोमा विश्व वरियताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१–७ र २१–५ को सोझो सेटमा पराजित भएका थिए ।

उनको साथमा नेपाली प्रशिक्षकको व्यवस्थापन गर्न नेपाली खेल टोली असफल भएपछि दुई खेलमा एलसाल्भाडोरका मार्टिनेज नवररेट्टे जोस पेड्रोले प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने अन्तिम खेलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर प्रिन्सको प्रशिक्षकको भूमिकामा रहेका थिए । नेपालमा व्याटमिन्टन खेलको पनि इतिहास लामो छ । भारतमा अध्ययन गर्न गएका नेपाली छात्रहरुले राणाशासनकालमै नेपालमा ब्याडमिन्टन खेल भित्र्याएका थिए । २००८ सालमै नेपाल ब्याडमिन्टन सङ्घको स्थापना भइसकेको थियो ।

जुडो

प्रतिस्पर्धाबाट ओलम्पिकमा सहभागी हुन पुगेकी नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान महिला ५७ केजीमुनि तौल समूहमा पराजित भएकी थिइन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा एक मिनेट दुई सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा सर्बियाकी मरिका पेरिसिकसंँग १०–० अङ्कले हारेकी थिइन् । मनीता ओलम्पिक खेल्ने छैटौँ नेपाली जुडो खेलाडी हुन् । नेपाल जुडो सङ्घको स्थापना भएको ४१ वर्ष भइसकेको छ ।

स्विमिङ

ओलम्पिकमा एथलेटिक्सपछि धेरै नेपाली खेलाडीले सहभागिता जनाउने अवसर पाएको खेल स्विमिङ हो । एथलेटिक्स र स्विमिङमा अनिवार्य सहभागिताको कारणले धेरै नेपाली स्विमरले ओलम्पिकमा खेल्न पाएका हुन् । नेपाली स्विमर एलेक्जेन्डर शाहले पुरुष एक सय मिटर फ्रिस्टायलमा कायम गरेको नयाँ राष्ट्रिय कीर्तिमान नेपाली खेल टोलीको गौरवको विषय बन्न पुग्यो । उनले निर्धारित दूरी ५१।९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२।१७ सेकेन्डको कीर्तिमानमा सुधार गरे । एलेक्जेन्डरले २०२१ टोकियो र २०२४ पेरिस ओलम्पिकमा सहभागिता जनाएका थिए । नेपालकी डुवाना लामा पौडीको महिला दुई सय मिटर फ्रिस्टायलमा ३०औँ स्थानमा भएकी थिइन् । सहभागी ३१ खेलाडीमध्ये डुवाना ३०औँ भएकी हुन् । डुुवानाले निर्धारित दूरी दुई मिनेट २०।७४ सेकेन्डमा पूरा गरेकी थिइन् ।

सुटिङ

सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा ४२ औँ स्थानमा रहिन् । कुल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२औँ स्थान हासिल गरेकी हुन् । सुस्मिताले कुल ६५४ अङ्कमा ६०७।८ अङ्क जोडेकी थिइन् । नेपालमा २०३७ सालमै नेपाल सुटिङ सङ्घको गठन भएको तथा सुटिङ खेलका विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सन् १९८२ देखि नै भाग लिँदै आइरहेको भएता पनि नेपालको लज्जाजनक पराजयको जिम्मेवारी सम्बन्धित अधिकारीले लिनुपर्ने देखिएको छ ।

यसपटक ओलम्पिकमा सहभागी नेपाली खेलाडीमध्ये तीनजना विदेशमा अध्ययनरत छन् । स्विमिङका अलेक्जेन्डर शाह अमेरिका तथा डुवाना लामा थाइल्यान्डबाट एवं टेबुल टेनिसका श्यान्टु श्रेष्ठ अष्ट्रेलियाबाट आएका थिए । विदेशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपाली खेलाडीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा नेपालमा उत्कृष्ट खेलाडीको अभाव हँुदै गइरहेको महसुस हुन्छ । यस्तो अवस्थामा नेपालमा खेलाडी भई बाँच्न सक्ने अवस्था सिर्जना गर्न तथा ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको छवि उँचो बनाइराख्न सरकारले विशेष सक्रियता अपेक्षित मानिएको छ ।

यसैबीच, १७ दिनपछि पेरिसमै आयोजना हुने पारा ओलम्पिकमा नेपालले ताइक्वान्डो र स्विमिङमा भाग लिँदैछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव घिसिङ पारा ताइक्वान्डोकी पलेस्वा गोबद्र्धनले सो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्नुहुन्छ । ९लेखक खेलकुदमा अभिरुचि राख्ने पत्रकार हुनुहुन्छ०

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.