लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन

लुम्बिनी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन हुनुभएको छ ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले यसअघि नै मुख्यमन्त्री बन्नुभएका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलका नेता रहेका पूर्वमुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि रिक्त रहेको दलको नेता पदमा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो ।

दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गत साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेको बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ ।

यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ । चौधरी यसअघि पनि प्रमुख सचेतक नै रहनुभएको थियो ।

एमाले संसदीय दलको आजको बैठकमा नेता गिरीको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुपन्देही बाहिर भएकाले बैठकमा सहभागी नभएको गिरीको सचिवालयले जनाएको छ । एमाले दलको बैठकमा एमाले प्रदेश कमिटी इन्चार्ज एमाले सचिव पद्मा अर्याल सहभागी रहनुभएको थियो ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ गते विश्वासको मत लिने हुनुभएको छ । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.