स्वास्थ्यको हिसाबले निकै उपयोगी र महत्वपूर्ण परिकार क्वाँटी
काठमाडौँ- जनैपूर्णिमाका दिन हाम्रो समाजमा क्वाँटी खाने प्रचलन छ। ‘क्वाँटी’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाँटि’ को अर्थ तातो सुप भन्ने बुझिन्छ।
क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्ला लगायत नौ थरी गेडागुडीको मिश्रणबाट तयार गरिन्छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रने गरी पानीमा भिजाउने चलन छ ।
नेपाली समाजमा बर्खाको समयमा खेतीकिसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने पानीमा भिजेर काम गरिरहँदा चिसो पनि लाग्न सक्ने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ ।
क्वाँटीमा पूर्ण प्रोटिन पाइने भएकाले क्वाँटी शक्तिवद्र्धक पौष्टिक आहारको रुपमा रहेको र यसले रोगप्रतिरोधात्मक क्षमता बढाउने पोषणविद् हरु बताउछन् ।
”उच्च प्रोटिन पाइने क्वाँटी अत्यन्तै पोषिलो खाने कुरा हो । यसलाई घरमा बनाएर जुनसुकै समयमा पनि खान सकिन्छ। पर्व विषेश मात्र होइन कुनै पनि समयमा मानिसलाई कमजोर महसुस भएको खण्डमा क्वाँटी खानु उपयुक्त पोषणविद् नरेन्द्र चौधरीको बताउनु हुन्छ ।
यसले मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, निमोनिया विरामी तथा सुत्केरी महिला, वाल बच्चा वृद्ध वृद्धाका लागि फाइदा पुर्याए पनि प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुर्याउनुपर्ने चौधरीको सुझाब छ ।
क्वाँटी पकाउन चाहिने सामाग्रीहरु : भिजाएको क्वाँटी, प्याज, गोलभेडा, ज्वानो, नुन, बेसार, जिरा र धनीयाको धुलो, तेल वा घिउ, तेजपात, खुर्सानी, पिसेको अदुवा र लसून, ल्वाङ सुकमेलको धुलो, हरियो धनीया
क्वाँटी पकाउने तरिका : क्वाँटी बनाउनको भाडा( प्रेसर कुकुर) ताति सकेपछि घिउ अथवा तेल राखेर ज्वानोलाई फुराउनुहोस् अनी तेजपात र काटेको प्याज राख्नुहोस् । प्याज रातो भएपछी पिसेको अदुवा लसुन पनि राखेर एकैछिन भुट्नुहोला र भिजाएको क्वाटी पनि राखी राम्रोसँग चलाई एकैछिन भुट्नुहोस् । एकैछिन भुटेपछी बेसार, जिरा र धनीयाको धुलो, खुर्सानी, ल्वाङ सुकमेलको धुलो, नुन राखी एकछिन नचलाउनुहोला र गोलभेडा पनि राखी एकछिन भुट्नुहोला र आफुलाई कती झोल खान मन लाग्छ सोही अनुसार पानी राखेर बिर्को लगाइ ३–४ सिठ्ठी लगाउनुहोला । ३–४ सिठ्ठीपछी बिर्को खोली माथिबाट हरियो धनीया रखी सजानुहोस् र तपाईंको मिठ्ठो क्वाटी खानको लागि तयार भयो ।
प्रतिक्रिया राख्नुहोस्