बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशका १२ मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूसँग चालु आर्थिक वर्षको बजेट तथा कार्याक्रम कार्यान्वयनका लागि कार्यसम्पादन करार सम्झौता गरिएको हो ।

मुख्यमन्त्री लामाले कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङसँग करार सम्झौता गर्नुभएको हो । यस्तै अर्थमन्त्री कुन्दनराज काफ्ले, सामाजिक विकासमन्त्री हरिप्रभा खड्की, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का र संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीसँग मुख्यमन्त्री लामाले करार सम्झौता गर्नुभएको हो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन अनुपस्थित हुनुहुन्थ्यो । विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई मुख्यमन्त्री कार्यालयको जिम्मेवारी दिइएकाले करार सम्झौता नगरिएको बताइएको छ । कार्यसम्पादन करार सम्झौतानुसार आगामी २०८२ असार मसान्तसम्मको समयावधि रहने उल्लेख छ ।

बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि असोज मसान्तसम्म तयार गर्नुपर्ने, खरिद प्रक्रिया र टेण्डरसम्बन्धी कार्य आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भएको अख्तियारी तथा मार्गदर्शन बमोजिम गर्नुपर्ने, कार्यसम्पादनका लागि आवश्यक सहजीकरण र अन्तरनिकाय समन्वयका लागि जिम्मेवारी दिने पदाधिकारीले सहजीकरण गर्नुपर्नेलगायत विषय सम्झौतामा उल्लेख छन् ।

मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारको काम कारबाहीलाई व्यवस्थित, मर्यादित, सन्तुलित बनाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिएकाले दिगो विकास र समृद्धिका लागि लगनशीलतापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.