चाँगुबासीलाई पहिरो रोक्न प्लाष्टिकको भर, हेटेको छैन डर

भक्तपुर- चाँगुनारायण नगरपालिकाले १४ हजार ८ सय ७५ मिटर प्लाष्टिक वितरण गरेको छ । अधिक वर्षाका कारण यस नगरपालिकाको वडा नं ९, ताथली, बनमाला टोललगायतका ढलान बाटो मुनी बारम्बार पहिरो जाने गरेको छ ।

पहिरो गएपछि स्थानीय त्रसित बनेका छन् । तर जोखिम बढेपछि तत्कालका लागि प्लाष्टिक र त्रिपालले सो ठाउँ ढाकेर डर छोप्ने काम भएको छ । तत्कालको जोखिम कम गर्न त सकियो तर भारी वर्षा आएपछि जोखिम झन् बढेर गएको छ ।

यसैगरी ताथली सिसौघारीको ढलान बाटो पनि भत्किएको छ । भण्डारी—कार्की टोल जाने सडकको अवस्था झन नाजुक बनेको छ । सडक बिच्छेद भएपछि वडा कर्याालयले बैकल्पिक बाटो प्रयोग गर्न वडाबासीलाई अुनरोध गरेको छ ।

यता चाँगुनारायण नगरपालिका वडा नं ८, दुलाल गाँउमा घर मुनी र घरमाथि पहिरो गएको छ । पानीको निकास व्यवस्थापन गरी स्थानीयले पहिरो जोखिम न्यूनीकरण कार्य गरेका छन् । यसमा नगरपालिको प्लाष्टिक र त्रिपाल थोरै भएपनि उपलब्ध गराएको छ ।

उता चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोटको भट्टेडाँडा चोकमा केहि समय पहिले पहिरो गयो । पहिरोले एउटा मोटरसाइकलसमेत बगाएको थियो । नगरपालिकाका विभिन्न वडाहरुमा भएको विपद्का घटनाहरु अहिले उदाहरण बनेका छन् ।

वर्षा अझै हुन सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यस्ता घटनाहरु बढिरहेका छन् । पहिरोको पीडामा चाँगुनारायणबासी कहिलेसम्म त्रिपालको भरमा बस्ने चिन्ताको विषय बनेको छ ।

छिमेकीको घरजस्तै गरी आफ्नो घर पनि पुरिने हो कि ? भन्ने चिन्तामा स्थानीय छन् । चाँगुनारायण नगरपालिकाको वडा नं. ५ का सडकको हालत भनिनसक्नु छ । प्रायः सडकमा क्षति पुगेको देखिएको छ ।

वर्षा अघिसम्म कालो, चिल्लो कालोपत्रे सडक, ढलान गरिएका सडक वर्षा यामको समयसम्म आइपुग्दा सडकको अनुहार कुरुप बनेको छ । सडकभरि खाल्डाखुल्डी, भड्खालो परेका छन् । सडकको दायाँबायाँका कुलाहरु पुरिएका छन्, सडक हिलाम्य छन् । यात्राका लागि समेत जोखिम बढेको छ ।

नगरवासीले उपभोग गर्दै आइरहेको खानेपानी, सडक बस्ती क्षतविक्षत छ । दैनिक जीवन अस्तव्यस्त बन्न थालेको छ । नगरपालिकाले क्षतिको आंकलन गरी पूर्व तयारी गर्नुपर्ने स्थानीयको भनाइ छ ।

जथाभावी प्लटिङ गर्नेहरुलाई मात्रै पनि रोक्ने हो भने केही विपद् रोकिने स्थानीयले सूझाव दिएका छन् । भक्तपुर नगरकोट सडक खण्डको लप्टन डाँडा, खरिपाटी पुल छेउमा सडक भासिएको छ । मुहानपोखरी जाने बाटोदेखि तेलकोटसम्म पुग्दा ५ ठाउँमा पहिरो लागेको छ ।

नगरकोटको बास्तोला गाउँमा पहिरो खसेको छ । सल्लाघारी, पिपलबोट, लामाचौर, शान्ति डाँडा, गडडगे, नयाँ गाउँ, बाख्री गाउँमा पहिरो गएको छ । हालैमात्र स्तरोन्नतिका साथ कालोपत्रे गरिएको तेलकोट नाट्यश्वरी मूलपानी पेप्सिकोला सडकको विभिन्न खण्डमा पहिरो गएको चाँगुनारायण नगरपालिकाको विपद् शाखाको तथ्याङ्क छ ।

यसैगरी सुरेन्द्रप्रताप स्मृति मार्ग (मुहानपोखरी चरेली खावा सडक) अधिकारी गाउँ, चरेली, मुहानपोखरी माथि, पहिरो गएको छ । बाँसबारी बाल्मिकेश्वर वडा कार्यालय सडकको घट्टे खोला कटान भएको छ । ढुंगेसाँघु, गुरुङटार र बगुवामा पहिरो गएको छ ।

बागेश्वरीमै एउटा पुल भत्किसकेको छ । राहत स्वरुप नगरपालिकाले हाल सम्म ५ सय ९५ रोल प्लाष्टिक, १ सय ३७ वटा त्रिपाल र ३ हजार ६ सय ५९ वटा बोरा वितरण गरेको छ । ३ सय ३० परिवार बाढी, पहिरो, भूक्षयलगायत विपद्का घटनाबाट प्रभावित भएको विपद् शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.