शिक्षक सरुवा भएर गएपछि तीन महिनादेखि पठनपाठन ठप्प

कञ्चनपुर- विद्यालयमा कार्यरत शिक्षकलाई आन्तरिक सरुवा गरी अन्यत्र पठाइएपछि शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालयको पठनपाठन तीन महिनादेखि प्रभावित भएको छ ।

गणित, अङ्ग्रेजी, विज्ञान, नेपाली, सामाजिक विषयका शिक्षक अभाव हुँदा पठनपाठन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले बताउनुभयो ।

“विद्यालयको पठनपाठन सञ्चालन गराउनका शिक्षक चाहिए,” उहाँले भन्नुभयो, “शिक्षक सरुवा गरिए पनि नगरपालिकाले एक मात्रै शिक्षक पठाएका छन्, अरु शिक्षक अभाव छन्, व्यवस्था गरिएको छैन ।”

अहिलेसम्म प्रद्यानाअध्यापकको टुङ्गो नलाग्दा नगर शिक्षक भर्ना गर्न नपाएको उहाँले बताउनुभयो । “निमित्तका भरमा काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “तीन पटकसम्म सूचना निकालेर दरखास्त आह्वान गरे पनि शिक्षक भर्ना गर्न पाइएको छैन ।”

गत असार २१ गते विद्यायमा कार्यरत प्रअसहित विषयगत शिक्षक सरुवा गरिएपछि पठनपाठनसँगै प्रशासनिक कार्य पनि ठप्प रहेको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार विद्यालयमा सात सय ८० विद्यार्थी भर्ना भए पनि माध्यमिक तहमा तीन जना र प्लस टुमा दुई जना शिक्षक मात्रै कार्यरत रहेका छन् ।

आधारभूत तहमा पनि विद्यार्थी अनुपातमा शिक्षक अभाव रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयका प्रध्यानाअध्यापकको सरुवा गरिएपछि अर्काे विद्यालयबाट प्रध्यानाध्यापक पठाइए पनि उहाँले प्रध्यानाअध्यापक पदमा बस्नका लागि इच्छा नदेखाएपछि अन्योलता सृजना भएको छ ।

विद्यालयमा शिक्षकको व्यवस्था गरिदिन माग गर्दै झण्डै १२ किलोमिटरको यात्रा पैदल चर्को घाममा तय गर्दै विद्यालयका विद्यार्थी आइतबार नगरपालिका कार्यालयमा पुगे । विद्यार्थीले नगर प्रहरी लगाएर चर्को घाममै बस्न लगाइएको अरोप लगाएका छन् । चर्को घाममा बसेका केही विद्यार्थीलाई मात्रै नगर प्रमुख कार्यकक्षमा बोलाएर छिट्टै शिक्षकको व्यवस्था गर्ने आश्वासन दिएर पठाइएको विद्यार्थीले बताउनुभयो ।

नगरपालिका कार्यालयमा पुगेका विद्यार्थी रमेश पूजाराले तीन महिनादेखि पठनपाठन नहुँदा दुई साताअघि नगर प्रमुखलाई शिक्षको व्यवस्था गरिदिनका लागि दिएको निवेदनको वेवास्ता भएपछि बाध्य भएर नगरपालिकासम्म पुग्नुपरेको बताउनुभयो ।

“शैक्षिक सत्र सुरु भए देखिनै शिक्षक अभाव हुँदा पठनपाठन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “हेडसर सरुवा भएपछि शिक्षक नहँुदा विद्यालय पुग्ने र घर फर्कने कार्य मात्रै हुँदै आएको छ ।” विद्यालयमा कक्षा नौमा पढ्दै आउनुभएकी छात्रा विनीता भट्टले शिक्षक व्यवस्था गरी नगरपालिकाले समस्या छिटोभन्दा छिटो समाधान गर्नुपर्ने बताउनुभयो ।

गुणस्तरीय शिक्षाको नारा दिएर शिक्षक सरुवा गरेको नगरपालिकाले विद्यालयको पठनपाठन चौपट पारेको आरोप अभिभावकको छ । “छिटोभन्दा छिटो शिक्षको व्यवस्था गरी पठनपाठन गर्नुपर्छ,” स्थानीय अभिभावक प्रकास भट्टले भन्नुभयो, “विद्यालयमा भर्ना भएका विद्यार्थीको भविष्य वर्वाद पार्ने अधिकार कसैलाई छैन ।” शिक्षक सरुवा गर्ने व्यवस्था गर्न नसक्नु विडम्बना भएको उहाँको भनाइ रहेको छ ।

यसअघि श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी शिक्षकको व्यवस्था गर्न माग गर्दै नगरपालिका पुगेका थिए । नगर शिक्षकका लागि सामुदायिक विद्यालयले तीनदेखि चार पटकसम्म दरखास्त आह्वान गरे पनि प्रर्याप्त निवेदन नपर्ने र निवेदक परीक्षमा उत्तीर्ण नहुँदा शिक्षकको समयमै व्यवस्था नगरपालिकाले गर्न सकेको छैन ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले सिद्धबैजनाथ माध्यमिक विद्यालयमा शिक्षकको अभाव पूर्ति गर्नका लागि दरखास्त दिएका परीक्षार्थीको परीक्षा भदौ २० गते हुने भएको बताउनुभयो । “शिक्षकको व्यवस्था छिट्टै हुन्छ,” उहाँले भन्नुभयो, “प्रअ नियुक्त गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिले गरी सकेको छ ।”

विद्यालय व्यवस्थापन समितिले राष्ट्रिय माध्यमिक विद्यालयबाट सरुवा भएर आएका शिक्षक वीरेन्द्र सिंह साउदलाई प्रध्यानाअध्यापक पदमा नियुक्त गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.