सिराहामा दुई दिनमा ५ क्विन्टल गाँजा बरामद

सिराहा- सिराहा प्रहरीले कर्जन्हा नगरपालिकाबाट दुई दिनमा पाँच क्विन्टल गाजा बरामद गरेको छ । प्रहरीले आज पुन:  तीन क्विन्टल गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार मात्र प्रहरीले सोही स्थानबाट २ क्विन्टल गाँजा बरामद गरेको थियो ।

शुक्रबार इलाका प्रहरी कार्यालय, मिर्चैयाको प्रहरी टोलीले सोही स्थानबाट २ सय १७ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान गर्ने क्रममा आइतबार पुनः छापा हान्दा शुक्रबार भेटिएको स्थानबाट ५० मिटरको दूरीमा लुकाइ राखेको अवस्थामा २ सय ९० केजी गाजा बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा दिउँसो साढे १२ बजेको समयमा गएको प्रहरी टोलीले १९ वटा पोकामा रहेको उक्त गाँजासहित सोही स्थान बस्ने ३७ वर्षका प्रदीप मुखियालाई पक्राउ पनि गरेको छ ।

प्रहरीका अनुसार, दुवै दिन पक्राउ परेका गाँजा एउटै कारोबारी गिरोहको रहेको र उनीहरूले विभिन्न स्थानबाट ल्याएर यहाँ भण्डारण गर्ने भित्र वितरण तथा भारत तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए ।

यसमा ठूलो गिरोह संलग्न रहेको हुनसक्ने र गाँजाका पोका हेर्दा व्यावसायिक ढंगले नै उनीहरू गाँजाको कारोबार गर्दै आएको देखिएको डीएसपी बाखुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.