मनास्लु संरक्षण क्षेत्र भित्र प्रवेश गर्न गाउँपालिकालाई पनि शुल्क तिर्नुपर्ने

गोरखा- मनास्लु संरक्षण क्षेत्र (एमक्याप) भित्र प्रवेश गर्न अब गोरखाको चुमनुब्री गाउँपालिकालाई पनि शुल्क तिर्नुपर्ने भएको छ । नेपाली तथा विदेशी दुवै पर्यटकले सो क्षेत्रमा प्रवेश गर्दा गाउँपालिकालाई पनि रकम तिनुपर्ने निर्णय गरेको हो ।

भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो ।

चुमनुब्रीको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको पालिकाले जनाएको छ ।

एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐन बमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाले जनाएको छ ।

गाउँपालिकाले उठाएको पदयात्रा शुल्कबाट चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्रमा लगानी गरिने पत्रमा उल्लेख छ । सो निर्णयको जानकारी तथा सहजिकरणको लागि पर्यटन बोर्ड भृकुटिमण्डपलाई समेत पत्राचार गरिएको छ ।

सो निर्णयको बोधार्थ पदयात्रा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश पोखरा, अध्यागमन विभाग कालिकास्थान काठमाण्डौं, राष्ट्रिय प्रकृति संरक्षण कोष खुमालटार ललितपुर, जिल्ला प्रशासन कार्यालय गोरखा, पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौं, मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय फिलिम गोरखा, ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल, गणेशस्थान काठमाण्डौं, प्रहरी चौकी सिर्दिवास, जगत, नामरुङ, सामागाउँ, चुम्लिङ र छेकम्पारमा समेत बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.