राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ- उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । काठमाडौँमा बिहीबार भन्सार विभागको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

अर्थ मन्त्री पौडेलले राजस्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढि उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिनुभयो । उहाँले राजस्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गर्नुभयो ।

उहाँले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्नुहुँदै राजस्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताउनुभयो ।

अर्थ मन्त्री पौडेलले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजस्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘राजस्वको लक्ष्य पूरा गर्ने र राजस्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसावले अघि बढ्नुहोला । राजस्व परिचालनमा कुनैपनि सम्झौता हुनेछैन । यहाँहरुले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला ।’’

उहाँले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । सरुवा, बढुवाको प्रस्ताव लिएर कोही पनि नआउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.