अपाङ्गता भएकाहरूलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ: स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपाङ्गता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार कोरियाली सरकारको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरूले पहल गरिरहेको पनि बताउनु भयो । घर परिवारले मात्रै उहाँहरूलाई सहयोगीको रूपमा सधैँ काम गर्न सकिने अवस्था नरहेकाले पनि राज्यले स्रोत सुनिश्चित गरेर उनीहरूका लागि सहयोगी उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो । मन्त्री पौडेलले अपाङ्गतामैंत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य विमाले मात्रै नपुग्ने भएकाले त्यसमा पनि सरकारले पुनर्विचार गरेर अघि बढ्ने आश्वासन समेत दिनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘यहाँहरूलाई सहयोगीको आवश्यकता पर्दछ । अहिले घरपरिवारको कोही रगतको नाता भएका, भावनाको नाता भएका मानिसहरूले तपाईँहरूलाई सहयोग गरिरहनु भएको छ । उहाँहरूले पनि कति सक्नुहुन्छ ? उहाँहरूका पनि आफ्नै खालको समस्याहरू छन् । फेरि साधन, स्रोतविना उहाँहरूले तपाईँहरूलाई सहयोग गरिरहन पनि सजिलो भइरहेको छैन । त्यसैले यहाँहरूले जुन सहयोगीको खोजी गरिरहनुभएको छ । यहाँहरूलाई त्यो चाहिने अवस्था छ । हामीले त्यसलाई पूरा गर्नका निम्ति साधन, स्रोत सुनिश्चित गर्न केही समय लाग्छ । तर नीतिगत रूपमा यो आवश्यकता हो भनेर राज्यले स्वीकार गर्न सक्ने अवस्था निर्माण गर्नसक्छौं । हामी त्यसको निम्ति कोसिस गरिरहेका छौँ । अव राज्यले यहाँहरूसँगको सम्बन्ध यहाँहरूको जीविकोपार्जन, यहाँहरूले गर्ने गतिविधिमा सहजीकरण राज्यका संरचनाहरू, पूर्वाधारहरू अपाङ्गतामैत्री हुनुपर्छ भन्ने कुराहरू धेरै अगाडिदेखि राखिरहनुभएको छ । बनिसकेको पूर्वाधारलाई त्यसअनुसार विकसित गर्न पनि स्रोत सुनिश्चित हुनुपर्ने, नयाँ बन्ने संरचनामा केही स्रोत थप गरेर अपाङ्गतामैत्री बनाउने कुरालाई नीतिगत रूपमा अनिवार्य गर्न जरुरी छ । त्यसको निम्ति पनि हामीले केही कोसिस गरिरहेका छौँ ।’

मन्त्री पौडेलले सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.