ओपरा विन्फ्रेसँग लाइस्ट्रिम गर्ने ह्यारिसको योजना, इजरायली–अमेरिकी समूहलाई सम्बोधन गर्ने ट्रम्पको तयारी

वासिङ्टन –  अमेरिकामा राष्ट्रपतिका दुवै उम्मेदवार बिहीबार आफ्ना प्रमुख समर्थकहरूलाई उत्साहित गर्न उपस्थित हुनुहुनेछ ।

उपराष्ट्रपति कमला ह्यारिस ओपरा विन्फ्रेसँग लाइभस्ट्रिममा भाग लिने तयारीमा हुनुहुन्छ भने डोनाल्ड ट्रम्प इजरायली–अमेरिकी परिषद्लाई सम्बोधन गर्नुअघि यहुदी दाताहरूसँगको कार्यक्रममा सहभागी हुनुहुनेछ ।

विन्फ्रेले ह्यारिसको समर्थन गर्नुभएको छ र अगस्टमा डेमोक्रेटिक सम्मेलनमा ह्यारिससँग मिचिगनमा दुई घण्टाको ‘युनाइट फर अमेरिका’ रात्रिकालीन स्ट्रिमिङ सत्रको आयोजना गर्न लागेको बताउनुभएको थियो । उक्त सत्रले उपराष्ट्रपतिलाई समर्थन गर्ने तल्लो तहका दर्जनौँ समूहलाई उजागर गर्ने लक्ष्य राखेको आयोजकहरूले बताएका छन् ।

ट्रम्प वासिङ्टनमा ‘अमेरिकामा यहुदी विरोधी लडाइँ’ ९फाइटिङ एन्टी–सेमिटिजम इन अमेरिका० साँझको कार्यक्रमलाई सम्बोधन गर्न मिरियम एडेल्सनसँग हुनुहुनेछ । एडेल्सन एनबिएको डलास मावेरिक्सको सह–मालिक तथा क्यासिनो व्यवसायी शेल्डन एडेल्सनकी विधवा हुनुहुन्छ । शेल्डन एडेल्सनले लास भेगास स्यान्ड्स क्यासिनो स्थापना गर्नुभएको थियो र उहाँ रिपब्लिकन पार्टीको सबैभन्दा ठूलो दाता हुनुहुन्थ्यो ।

ट्रम्पले इजरायली–अमेरिकी परिषद्को कार्यक्रममा पनि बोल्नुहुनेछ । परिषद् लामो समयदेखि शेल्डन एडेल्सनका साथै राष्ट्रपति जो बाइडेन र डेमोक्रेटिक कारणका लागि प्रमुख दाता ह्याम सबानले समर्थन गरेको गैरलाभकारी संस्था हो ।

परिषद्ले गाजा युद्ध सुरु गराएको हमासको अक्टोबर ७ को आक्रमणको पहिलो वार्षिकोत्सवको केही साताअघि आफ्नो राष्ट्रिय सम्मेलन गर्दैछ ।

ह्यारिसले शुक्रबार स्विङ स्टेट विसकन्सिन र जर्जियामा अभियान सञ्चालन गर्ने योजना बनाउनुभएको छ । उहाँले गर्भपतनको चक्कीको जटिलताका कारण २० घण्टा अस्पतालको पर्खाइमा रहेकी एक युवतीको केसलाई ध्यानाकर्षण गराउनुहुनेछ । यस घटनालाई ट्रम्पका क्रियाकलापहरूको परिणामको रूपमा देखाएको ह्यारिसको तर्क छ ।

राष्ट्रव्यापी गर्भपतन अधिकारलाई उल्ट्याउने सर्वोच्च अदालतको निर्णयपछि सन् २०२२ मा जर्जियाको कडा गर्भपतन प्रतिबन्ध लागू भएको दुई हप्तापछि एम्बर थरम्यानको मृत्यु भएको थियो । ट्रम्पले उक्त निर्णयमा संलग्न तीन न्यायाधीशहरूलाई मनोनयन गर्नुभएको थियो ।

ट्रम्पले शनिबार कडा प्रतिस्पर्धा हुने उत्तर क्यारोलिनामा र्याली आयोजना गर्नुहुनेछ ।

फेडरल रिजर्भले आफ्नो मानक ब्याजदरलाई असामान्य रूपमा आधा अङ्कले कटौती गरेपछि बिहीबारको अभियानका गतिविधिहरू रोकिएका छन् । दुई वर्षभन्दा बढीको उच्च दरपछि यो नाटकीय परिवर्तन हो । ब्याजदरमा भएको कटौतीले मुद्रास्फीतिलाई नियन्त्रण गर्न सहयोग गर्यो तर अमेरिकी उपभोक्ताका लागि उधारोलाई महँगो बनायो ।

राष्ट्रपति निर्वाचनका लागि सात हप्ताभन्दा कम समय बचेको छ र यसले अमेरिकीहरूको मतदानको तयारीमा आर्थिक परिदृश्यलाई परिवर्तन गर्ने सम्भावना राख्छ । बुधबार न्युयोर्कमा प्रचार गर्दै ट्रम्पले भन्नुभयो, “अर्थतन्त्र धेरै खराब छ भन्ने यसले देखाउँछ, यसमा यति कटौती गर्नु भनेको उनीहरूले राजनीतिमात्र खेलिरहेका छैनन ।”

निर्वाचनको दिन नजिकिँदै गर्दा ब्याजदर घटाउने सम्भावित राजनीतिक प्रभावका बारेमा सोधिएको प्रश्नमा ह्वाइट हाउसका प्रेस सचिव क्यारिन जिन–पियरेले बाइडेन प्रशासन ‘यस बारेमा धेरै स्पष्ट’ रहेको र ‘फेडरल रिजर्भको स्वतन्त्रताको सम्मान’ गरेको बताउनुभयो ।

“अन्य प्रशासनहरूको विपरीत हामी यसमा निकै स्थिर रहेका छौंँ र यसलाई स्पष्ट बनाउन निरन्तर प्रयास गर्दैछौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.