नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू छन्: उपप्रधानमन्त्री पौडेल

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको बताउनुभएको छ ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालले नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण कदमहरू उठाएको जिकिर गर्नुभयो । उहाँले सरकारले उठाएका कदमलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकूलतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गरिरहेको बताउनु भयो । उहाँले वित्तीय संस्थाहरूमा नवीकरणीय ऊर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायु अनुकुल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको भन्दै जलविद्युतको सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको बताउनु भयो । उहाँले नवीकरणीय कर्जामा गरिने लगानीले घरेलु ऊर्जाको आवश्यकता पूरा गर्न मात्र नभई छिमेकी मुलुकलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्न सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको छ भन्ने सच्चाइलाई गहिरोसँग महसुस गर्नुपर्छ । म हाम्राअघि रहेका चुनौतिहरु प्रति पनि पूर्ण रूपमा सचेत छु । समाधान सम्भव छ भन्नेमा पनि आशावादी छु । नेपालले नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण कदमहरू उठाएको छ । तिनलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता छ । हाम्रो जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकूलतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको छ ।

हामीले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्दछौँ । यी स्रोतहरू जलवायु अनुकूल र न्यूनीकरण, विद्युतीय ऊर्जा, कृषि र विपद् न्यूनीकरणका लागि महत्त्वपूर्ण हुनेछन् । वित्तीय संस्थाहरूमा नवीकरणीय ऊर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायु अनुकुल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी छ । नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू छन् ।

हाम्रो जलविद्युतको सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी छ । नवीकरणीय कर्जामा लगानी गरेर हामीले आफ्नो घरेलु ऊर्जाको आवश्यकता पूरा गर्न मात्र नभई छिमेकी मुलुकलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्न सक्छौँ ।’

उपप्रधानमन्त्री पौडेलले आर्थिक प्रगति र पर्यावरणीय संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो । नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अघि बढिरहेको बताउनु भयो । विकास मोडलले वातावरणीय अनुकूलता, दिगो पन र समानतालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.