छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रा लिका पूर्व सञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

.जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । आइतबार नै पक्राउ पुर्जी जारी गरेर पक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमवार उपस्थित गराइएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो ।

पोखराको सूर्य दर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ । त्यही गोर्खा मिडियाविरुद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा ल्याइएको हो ।

पोखराका २२ जना सूर्य दर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रा लि सहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । पीडितको जाहेरीलाई प्रहरीले पूरक जाहेरीका रूपमा लिएको थियो । जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत पुगेका थिए ।

त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.