विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – आज सेप्टेम्बर २७ अर्थात् ४५ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायको समन्वयमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउन लागिएको हो ।

दिवस भव्य रूपमा मनाउन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ । कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ ।

कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.