उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्यो
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ ।
मौसम विभागले सूचना मार्फत उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तहपार गरेको जनाएको छ ।
विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।
बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने विभागले जनाएको छ ।
यस्तै खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएको तर बाँकी विमानस्थलमा खराब मौसमका कारण उडान हुन सकेको छैन । पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् ।
भिजिविलिटी कम भएकोले काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताउनुभयो । मौसम बिग्रिएकाले आजका कुनै पनि माउन्टेन फ्लाइट नभएका विमनस्थलले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुनेछ ।।
प्रतिक्रिया राख्नुहोस्