बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा ४ अर्ब ३५ करोड बढीको क्षति
काठमाडौँ- दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।
आईतवार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन मार्फत ऊर्जातर्फ २ अर्ब ४५ करोड,सिंचाईतर्फ १ अर्ब ३५ करोड र नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ गरी समग्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी गराएको हो । मन्त्रालयले यो क्षति अनुमान मात्रै रहेको भन्दै अझै बढ्नसक्ने बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढी र पहिरोका कारण १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको पनि बताउनु भयो ।
उहाँले जलविद्युत र प्रशारणलाइनतर्फ २ अर्ब ४५ करोड बराबरको क्षति भएको बताउनु भयो । उहाँले सिंचाईतर्फ १ अर्ब ३५ करोड बराबरको क्षति भएको उल्लेख गर्नुभयो । मन्त्री खड्काले बाढी र पहिरोले निजी क्षेत्रका २६ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको पनि बताउनु भयो ।
ऊर्जामन्त्री खड्काले दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना गरी चार जना बेपत्ता भएको बताउनु भयो ।
उहाँले निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत,ट्रान्समिसन लाइनमा ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँले मौसम विभागले गरेको पूर्वअनुमान गरी दिएको सूचनाको कारण क्षति कम भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘दुई दिनसम्म लगातार परेको अविरल वर्षाका कारण तामाकोशी जलविद्युत आयोजनामा काम गर्ने विद्युत प्राधिकरणका दुई जना कर्मचारी र सुरक्षामा खटिएका नेपाल आर्मीका दुई जना बेपत्ता भएका छन् । ऊर्जा मन्त्रालय अन्तर्गत भएको क्षतिको पनि विवरण आएको छ ।
बाढीको कारण ११ सय विद्युत अवरुद्ध भएको छ । पूर्णरुपमा क्षति भने होइन । निजी क्षेत्र र सरकारको लगानीमा निर्माण भएका जलविद्युत,ट्रान्समिसन लाइनलाई जोड्दा करिव साढे २ अर्ब ४५ करोड बराबरको क्षति भएको हो । यो अनुमान मात्रै हो । बढ्न पनि सक्छ । स्ािंचाई तर्फका आयोजनाहरुमा पनि १ अर्ब ३५ करोड भन्दा बढी क्षति भएको छ ।
मौसम विभागले गरेको पूर्वअनुमानले पनि कम क्षति भएको हो । लगातार वर्षाले क्षति हुने जानकारी गराउँदा गराउँदै पनि केही क्षति भएको छ । गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्बको थियो । जनधनको पनि ठूलो क्षति भएको थियो । सरकारले निर्माणाधिन आयोजनामा राती नबस्न र यातायात बन्द गर्ने जानकारी दिएकाले कम क्षति भएको छ ।’
उहाँले गत वर्ष पूर्वमा भएको बाढीमा मात्रै ऊर्जा क्षेत्रमा १० अर्ब रुपैयाँ र ठूलो जनधनको पनि क्षति भएको बताउनु भयो । मन्त्री खड्काले जलविद्युत आयोजनाहरु पूनःनिर्माणको कामलाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । सरकारले विभिन्न क्षेत्रमा नदी कटान,डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिव १ अर्ब १६ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्