पर्यटन मन्त्रीको दाबी: नीतिगत रूपान्तरणमा इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नीतिगत रूपान्तरणमा इतिहासमै कुनै पनि मन्त्रीले नगरेको काम गरेको दाबी गर्नुभएको छ ।

मङ्गलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले इतिहासमै अर्को कुनै मन्त्रीले नगरेको प्रयास आफूले गरेको भन्दै अहिले नीतिगत रूपान्तरणमा निकै ठुलो प्रयास भइरहेको बताउनु भयो । उहाँले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट जाने ऐनहरूको लाइन लाग्ने जिकिर गर्नुभयो ।

उहाँले संस्कृति नीति तयार भइरहेको, पर्यटन नीति, समसामयिक नीति तयार भइरहेको बताउनु भयो । हवाई नीति, नियामक निकाय र सेवा प्रदायक निकायको विधेयक पनि अघि बढाइने जानकारी दिनुभयो । उहाँले आन्तरिक उडानमा दुर्घटनामा पर्ने र अन्तर्राष्ट्रियमा दुर्घटनालाई लिएर समायोजन, एकरूपता र न्यायोचित बनाउने गरी बिमा सम्बन्धी ऐन ड्राफ्ट गरिरहेको बताउनु भयो । गैर सैनिक हवाई उड्डयनको विधेयक पनि तयार गरिरहेको बताउनु भयो । उहाँले पर्यटन ऐन, लुम्बिनी विकास कोषको ऐन र पशुपति क्षेत्र विकास कोषको ऐनमा समसामयिक परिवर्तनसहित तयार गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नीतिगत रूपान्तरणमा निकै ठुलो प्रयास गरेको छु । मलाई लाग्छ, मैले घमन्ड गरेको जस्तो हुन्छ । इतिहासमै अर्को कुनै मन्त्रीले नगरेको प्रयास मैले गरेको छु । नीतिगत रुपान्तरणका लागि । मैले अहिले ऐनहरू आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट जाने ऐनहरूको लाइन लागेर ऐनहरू जाने गरी तयारी गरेका छौँ । संस्कृति नीति तयार हुँदै छ । पर्यटन नीति, समसामयिक नीति तयार हुँदै छ । हवाई नीति तयार हुँदै छ । नियामक निकाय र सेवा प्रदायक निकायको विधेयकलाई असफल बनाउने विभिन्न खालको काम भयो । मैले जे जस्तो अवस्थामा छ खोजौँ, पठाइहालौँ भनेर मन्त्रीपरिषद्को विधेयक समितिमा छ । आन्तरिक उडानमा दुर्घटनामा पर्ने र अन्तर्राष्ट्रियमा दुर्घटनामा पर्नेका बिचमा ठुलो अन्तर थियो । त्यसलाई समायोजन, एकरूपता र न्यायोचित बनाउने गरी बिमा सम्बन्धी ऐन ड्राफ्ट गर्दै छौँ । अर्को गैर सैनिक हवाई उड्डयनको विधेयक पनि तयार गर्दै छौँ । प्लेनहरू दुर्घटनापछि जाँच्न पर्मानेन्ट जाँचबुझ आयोग हुन्छ अरू देशमा त्यो गठन गर्न त्यो विधेयक तयार हुँदै छ । पर्यटन ऐन, लुम्बिनी विकास कोषको ऐनमा समसामयिक परिवर्तनसहित तयार हुँदै छ । पशुपति क्षेत्र विकास कोषको ऐन समसामयिक परिवर्तनका लागि तयार हुँदै छ । एकदमै ठुलो नीतिगत र कानुनी रूपान्तरणका लागि प्रयास हुँदै छ ।’

मन्त्री पाण्डेले ठुलो नीतिगत र कानुनी रूपान्तरणका लागि प्रयास भइरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.