उर्जामन्त्री खड्का र एशियाली विकास बैँकको उपमहानिर्देशबीच भेट

काठमाडौँ –  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र एशियाली विकास बैँक दक्षिण एशियाली विभागका उपमहानिर्देशक सिन्डी माल्भिसिनीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा र सिंचाई क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।

भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा र सिंचाई क्षेत्रको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताउनुभयो । आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने उहाँले बताउनुभयो ।

उर्जामन्त्री खड्काले मुलुकका दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न एडिबीलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

भेटमा उपमहानिर्देशक माल्भिसिनीले तनहुँ जलविद्युत आयोजना र दुधकोशी जलविद्युत आयोजनालाई चाँडो सम्पन्न गर्नका लागि आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले नेपालमा विकास निर्माणको वातावरण सुनिश्चित गरे एशियाली विकास बैँकले धेरै क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।

भेटमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरीता दवाडी, नेपालका लागि एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.