विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी भयो: मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालीनालीमा नोक्सानी भएको बताउनुभएको छ ।

बुधवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको विपद्ले ६ अर्ब रुपैयाँ बराबरको बालीनाली नोक्सानी गरेको बताउनुभएको हो । यद्यपि सो तथ्याङ्क प्रारम्भिक भएको उहाँको भनाई छ । उहाँले सरकारले किसानहरूलाई राहत दिने सन्दर्भमा गम्भीरतापूर्वक सोचिरहेको र मन्त्रालय छलफलमा रहेको बताउनु भयो । उहाँले राहतका लागि दातृ निकायहरूलाई पनि अनुरोध गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सरदर ६ अर्ब रुपैयाँ नोक्सानी भयो अहिलेको अन्नबालीमा भन्ने हामीले सामान्य डाटा निकालेका छौँ । आगामी दिनमा हामीले उहाँहरूलाई कुन ढङ्गको राहत वितरण गर्न सकिन्छ ? राहत के दिन सकिन्छ ? यसतर्फ हामीले गम्भीरतापूर्वक सोचेका छौँ । मन्त्रालयमा छलफल पनि भएको छ । दातृ संस्थाहरूसँग पनि हामीले अनुरोध गरेका छौँ ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले विपद्को अहिलेको परिस्थितिमा सरकारले सङ्कटकाल लगाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले पूरक बजेटको माध्यमबाट पुनर्निर्माणलाई अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले नजिकिँदै गरेको चाडपर्वलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिसहरू काठमाडौँ बाहिर जानुपर्ने भन्दै उहाँले सडक सञ्जाल निर्माण गर्न ढिलो गर्नु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सरकारले चाह्यो भने यतिखेर सङ्कटकाल लगाउन सक्छ । त्यसमा म सहमत छु । मानिसको दिनचर्या भताभुङ्ग भएको अवस्थामा । सरकारले पूरक बजेटको माध्यमबाट पुनर्निर्माण अगाडी लैजानुपर्छ । मौजुदा बजेटबाट मुलुकको भत्किएका, बगेका पूर्वाधारहरू र जनजीवनलाई लयमा फर्काउन त्यति सजिलो छैन । सरकारले आह्वान गर्नासाथ दातृ सङ्घ संस्थाले पनि तत्काल दिन सक्ने परिस्थिति पनि छैन । २० लाख मानिस काठमाडौँ बाहिर जानुपर्ने भए पनि यातायात अहिलेसम्म सुचारु गर्न सकेका छैनौँ । सरकारले समय खेर फाल्ने होइन ।’

बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले पीडित किसानहरूलाई राहत दिन ढिलो गर्नु नहुने बताउनु भयो । ऐन, कानुनले राहत वितरणमा ढिलाइ हुन्छ भने मन्त्रिपरिषद्मा लगेर फुकाएर भए पनि किसानलाई उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ । उहाँले दातृ निकायहरूले आफैँले राहत वितरण नगरी एकमुष्ट रकम दिनुपर्ने र सो रकम सरकारले वितरण गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘राहत दिँदा उहाँहरूकै खातामा पठाउने हो भने सजिलो हुन्छ । जहिल्यै पनि दाताहरूको काम भनेको नेपालमा कहिल्यै पनि पैसा दिँदैन । मिडियाबाजी गर्छन् राहत दिएको भनेर तर वास्तविकता उनीहरूको ऐन, कानुन र नियमले बाँधेको हुन्छ, वास्तविक किसानकहाँ त्यो पैसा पुग्दैन । झन्झटिलो छ । उहाँहरूले एक बोरा चामल र एउटा नुनको पोको बाहेक केही हुँदैन । राहत दिन्छन् भने एकमुष्ट बजेट मागौँ र वास्तविक पीडितलाई दिऔँ । तत्कालै के गर्न सकिन्छ त्यसतर्फ ध्यान दिऔँ । ऐन कानुनले मिल्दैन भने मन्त्रिपरिषद्मा लगेर त्यसलाई फुकाउन मिल्छ कि ? फुकाएर मिलाएर बजेट परिचालन गर्न सके राम्रो हुन्छ ।’

उहाँले विपद्को पूर्व तयारीमा सरकारको ध्यान पुग्न नसकेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.