विपदबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण पहिलो प्राथमिकतामा- स्वास्थ्यमन्त्री पौडेल

काभ्रे-  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले  विपदबाट क्षतिग्रस्त क्षेत्रमा पूर्वाधारको पुनर्निर्माणलाई सरकारले पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।

मन्त्री पौडेलले शनिबार काभ्रेको पनौती नगरपालिका वडा नं १२ स्थित रोशीको स्थलगत अनुगमन गर्दै बाढी र पहिरोले यस क्षेत्रमा निकै नै प्रभाव पारेको र यहां पूर्वाधारको विकास प्रमुख आवश्यकता भएको बताउनु भएको हो ।

“यहां विद्युत, सञ्चार, खानेपानी लगायतका सेवा अवरुद्ध भएको छ,” उहांले भन्नुभयो,“यी पूर्वाधार सेवा ठप्प हुदां स्वास्थ्य सेवा प्रभावित भएको छ, सडक बाटो, बत्ती, सञ्चार नहुदां पनि स्वास्थ्य सेवा प्रवाहमा असहज भएकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर विकास गरिनेछ ।”

उहांँका अनुसार, जिल्लामा कहां कति क्षति भयो, त्यसको यकिन विवरण आउन सकेको छैन । लगत संकलन गरेर क्षतिको विवरण प्राप्त भएपछि प्रदेश, स्थानीय र संघीय सरकारको समन्वयमा विकासलाई तिब्र बनाइनेछ ।

अनुगमनकै क्रममा उहांले जिल्ला स्थित धुलिखेल अस्पतालमा बाढी र पहिरोमा परी घाइते भएको बिरामीहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिनुभएको थियो ।

काभ्रेमा अविरल बर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा तथ्यांकअनुसार अझै वेपत्ता हुनेको संख्या पाच रहेको छ ।

स्थानीय तहहरुले पनि पूर्वाधार विकासलाई प्रँथमिकतामा राखेर काम गरिरहेका छन् । बाढी र पहिरोबाट प्रभावित स्थानीय तहहरुले पनि पूर्वाधार विकासमा सडक सञ्जाल जोड्ने, विजुली, सञ्चार जडान, खानेपानी लगायतका सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

जिल्लामा क्षतिग्रस्त क्षेत्रको बारेमा प्रहरी प्रशासनले लगत संकलन गर्ने काम गरिरहेको र राहत वितरण कार्यमा यथार्थ जानकारी बुझेर मात्रै वितरण गर्नको लागि स्थानीय जनप्रतिनिधिलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका बाढीपहिरो र डुबानबाट बढी प्रभावित रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । आवश्यक स्रोतसाधन केन्द्रित गरेर संकटग्रस्त क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्निर्माणलाई तीव्रता दिइने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.