कान्ति राजमार्ग भोलि बिहानसम्म पूर्ण रुपमा सञ्चालनमा आउने

काठमाडौँ – अवरुद्ध कान्ति राजमार्ग बुधवार बिहानसम्म पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

मङ्गलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदय शमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको टोलीले सो ठाउँको अनुगमन गरेको हो । सो क्रममा कान्ति राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधवार बिहानसम्म पूर्ण रूपमा सडक सञ्चालन गरिसक्ने बताउनु भयो । उहाँले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ति राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिज क्षति हुँदा आवतजावतमा समस्या भएको बताउनु भयो । बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो असोज ११ गतेदेखि आएको वर्षापछिको क्षति हो । यसमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिज क्षति भयो । सम्भवतः यो कुलेखानीको पानी पनि जोडिएर र अविरल वर्षाका कारण क्षति भएको हो । यसबाट पुल मात्रै क्षति भएन, कन्ट्याक्टरको एउटा नयाँ पुल सँगै डिजाइन एन्ड बिलको ठेक्का थियो, नयाँ पुलको । जुन ८२ मिटर लामो, ११ मिटर चौडाइको । त्यो पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेण्टहरु पनि कन्ट्याक्टरको सबै बगाएर क्षति भएको छ । हामी हाल अस्थायी डाइभर्सनको रूपमा खोल्ने प्रयासमा छौँ । सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ । आज तीन बजेसम्मको टार्गेट छ । केही समय लाग्छ । टिप्परले मेटिरियल बोकेर ल्याउन समस्या आएको छ । भोलि बिहानसम्म यो बाटो खोलिसक्छौँ ।’

त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदय शमशेर जबराले आज आफूहरूले बागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरू अवलोकन गरेको बताउनु भयो । उहाँले सो क्रममा कान्ति लोक पथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ति लोक पथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको बताउनु भयो । अहिले पुलमा साना सवारीहरू चलाउन सक्ने बनाइएको जानकारी दिनुभयो । टिका भैरव, देवी चौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताउनु भयो । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुयाउनुपर्ने काम बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरू अवलोकन गर्न पनि गयौँ । एउटा त कान्ति लोक पथ । कान्ति लोक पथमा विशेष गरेर बगुवाको पुल जुन ललितपुर र मकवानपुर जिल्ला जोड्ने जिल्लाको पुलको केही भाग बगाएको छ । हाम्रो सडक विभाग तथा कान्ति लोक पथ आयोजना अन्तर्गतका साथीहरू र त्यहाँका स्थानीय जनप्रतिनिधिहरूको पहलमा अहिले त्यो पुल टेम्पररी चल्ने गरेर एक किसिमले बाइपास गरेर भोलिदेखि सानो गाडी चल्ने परिस्थिति सिर्जना भएको छ । टिका भैरव, देवी चौर घुसेल पनि हिजोसम्म बन्द थियो । हिजो पनि त्यहाँ आएर समस्या समाधान गरेपछि आज खुलेको छ । बिर्खे डाँडा दल्चोकी, शंखु सडकमा बढी ड्यामेज देखिएको छ । दलचोकीसम्म सडक पुगेको छ । अब शंखुसम्म पु¥याउनुपर्नेछ । विशेष गरेर ललितपुरको एक नम्बर क्षेत्रमा गोदावरी, महांकल, कुञ्जेसुम र बागमती यो एउटा नगरपालिका र तीन गाउँपालिकामा अहिले क्षति बढी भएको छ । ३५ जना भन्दा बढीको ज्यान गएको छ । पूर्वाधार धेरै नै बिग्रिएको छ । पुनः निर्माणको क्रममा ललितपुर एक नम्बर क्षेत्रमा महांकाल र गोदावरीमा विशेष समस्या छ । अहिले सबै बाटो खुलाउने र पुलहरू निर्माण गर्ने तयारीमा छौँ । पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय घरमा क्षति भएको छ । त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा छौँ । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको छ । तर स्थायी व्यवस्थापनमा हामीले ध्यान दिनुपर्छ ।’

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण क्षति भएका घरहरू ६ सयदेखि ८ सय रहेको अनुमान गरेको बताउनु भयो । सरकारले ५० हजार दिएर अस्थायी व्यवस्थापन गरेको भए पनि स्थायी व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.