राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएका छन् ।

निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो ।

राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एउटा आधार हो भन्नुभयो । उहाँले निर्वाचनका माध्यमबाट जनताले लोकतान्त्रिक हकअधिकार प्राप्त गर्नसक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।

साथै उहाँले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक छैन भन्नुभयो । “तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.