साफ महिला फुटबल: भारतद्वारा पाकिस्तान पराजित, आज नेपाल र भुटान भिड्दै
काठमाडौँ- राजधानीमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहिबार भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलअन्तरले पराजित गरेको हो । भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो ।
खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि खेलको पहिलो हाफको ३५औँ मिनेटमा बाला देवीले भारतका लागि गोल गरिन् । भारतकी डाङ्मेई ग्रेसले खेलको ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र भारतलाई ४-० को अवस्थामा पुर्याइन् ।
खेलको पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत गोल गरिन् । भारतकी असलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो ।
खेलको पहिलो हाफसम्म ४-१ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको दोस्रो हाफको सुरुआतमै कायल मारी सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने सङ्केत देखाएकी थिइन् । तर खेलको ७८औँ मिनेटमा भारतले पाँचौँ गोल थप्यो । भारतकी ज्योती चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन् ।
जीतसँगै भारतले प्रतियोगितामा तीन अङ्क जोडेको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह ‘बी’मा नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् ।
आज दिउँसो १:३० बजे पहिलो खेल श्रीलङ्का र माल्दिभ्सबीच तथा दोस्रो खेल साँझ ५:३० बजे नेपाल र भुटानबीच हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्