विद्यार्थीहरूलाई सयपत्री फूल बिक्री गर्न भ्याई नभ्याई
काभ्रे – नेपालीहरूको महान् चाड दीपावली सुरु भइसकेको छ । काभ्रे जिल्लाको नमो बुद्ध नगरपालिका वडा नं ४ स्थित श्री जनक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सयपत्री फूल बिक्री गर्न भ्याई नभ्याई भएको छ ।
तिहारको समय पारेर ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयको परिसरमा विद्यार्थीहरूले सयपत्री फूल लगाएका छन् । भदौ महिनाको पहिलो सातामा लगाएको फूल अहिले टिप्ने बेला भएको छ । विद्यालय दसैँदेखि नै बन्द छ । अहिले फूल टिप्ने बेला भएकाले उनीहरू बिदाको समयमा पनि विद्यालयमा आएर फूल टिप्ने, माला उन्ने, बिक्री गर्ने काम गरिरहेका छन् । फूल बिक्री गर्नको लागि विद्यार्थीहरूलाई बजारसम्म धाउनुपर्दैन । फूल किन्नेहरू उनीहरूको विद्यालयमै आइपुग्छन् ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यालयले सुरु गरेको फूल खेती कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । यस वर्ष विद्यालयको परिसरमा ४ रोपनीमा विद्यार्थीहरूले फूल लगाएका छन् ।
विद्यालयले गत वर्ष नमुना कार्यक्रमको रूपमा फूल खेती सुरु गरेको थियो । गत वर्ष विद्यालय परिसरमा लगाइएको २ रोपनी क्षेत्रमा १५ सय बोट सयपत्री फूलबाट करिब ७० हजार रुपैंयाँ आम्दानी भएको श्री जनक माविका संयोजक हरिहर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्षको कार्यक्रम राम्रो भएको प्रतिक्रिया पाएकाले यस वर्ष त्यसैलाई निरन्तरता दिने सोचले यस वर्ष अलिकति ठुलो स्केलमा फूल लगाइएको हो । ‘गत वर्ष राम्रो भएकाले होला, यस वर्ष विद्यार्थीहरूमा फूल खेतीप्रति आकर्षण बढेको पनि पाएका छौँ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीहरूले पढाई पश्चातको फुर्सदको समयमा गोडमेल, मलजल, स्याहारको काम गरिरहेका छन्, यो कार्यक्रम सौन्दर्यसँग पनि जोडिएकाले विद्यार्थीहरू रमाएर काम गरेको देखेका छौँ ।
’ पुष्प खेतीमा विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका ३० जना विद्यार्थी सहभागी छन् । उहाँका अनुसार, कार्यक्रमका ३० जना विद्यार्थीहरूलाई ५ वटा समूह विभाजन गरी कामको जिम्मेवारी बाँडफाँड गरिएको छ । गोडमेल, जल मल, स्याहार–सुसारका कामहरू विद्यार्थीहरूले समूहमा रहेर मिलेर काम गर्ने गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्