लामो फरम्याटमा अझ धेरै खेल खेल्नुपर्ने देखियो– कप्तान रोहित
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताउनुभएको छ ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एक दिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसकेको उल्लेख गर्दै एक दिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताउनु भयो । यी फरम्याटका क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने कप्तान रोहितले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गर्नुभयो । आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उहाँको भनाइ छ । उनले लिग–२ को तीन वटा शृङ्खलामा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताउनु भयो । कप्तान रोहितले ट्वान्टी–२० फरम्याट धेरै खेलेको उल्लेख गर्दै एउटा ब्याट्सम्यान भएपछि ५० ओभरमा पनि राम्रो गर्नुपर्ने धारणा राख्नुभयो । अहिले टोलीले राम्रो गर्न नसके पनि आगामी खेलमा ध्यान दिने उहाँले बताउनु भयो ।
रोहितले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताउनु भयो । उहाँ क्यानडामा खेल्न केही असहज भएको बताउनु हुन्छ । तर अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न चुकेको उहाँले उल्लेख गर्नुभयो । रोहितले नेपाल प्रिमियर लिग (एनपिएल) को यस संस्करणलाई लिएर उत्साहित रहेको बताउनु भयो । सबै टोलीले तयारी गरिसकेको र यसपल्ट एनपिएल राम्रो हुने पनि उहाँले आशा व्यक्त गर्नुभएको छ ।
नेपाली क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले क्यानडाको कन्डिसनमा खेल्ने समस्या नै रहेको बताए । तर उहाँले अमेरिकामा पनि टोलीले राम्रो प्रयास गरे पनि नतिजा राम्रो आउन नसकेको उल्लेख गर्नुभयो । अमेरिकामा पनि खेल्न राम्रो कन्डिसन नभए पनि एउटा ब्याट्सम्यान भएपछि सबै अवस्थामा खेल्न सक्नुपर्ने उहाँको धारणा थियो । उनले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताउनु भयो । घरेलु मैदानमा ५० ओभरमा नखेले पनि एउटा खेलाडीले राम्रो मानसिकताका साथ आफूलाई तयार गर्नुपर्ने बताउनु भयो । घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले आशा गर्नुभयो ।
उहाँले अबको २४ खेलमा राम्रो क्रिकेट खेल्दै नतिजा ल्याउने आशा व्यक्त गर्नुभयो । नेपालले अमेरिकाको शृङ्खलामा एक खेलमा जित निकाल्दै दुई खेल गुमाएको थियो । स्कटल्यान्डसँग जित निकालेको नेपालको सोही टोलीविरुद्ध दोस्रो खेल भने वर्षाका कारण हुन सकेन । अमेरिकासँग भने दुवै खेल गुमाउन पुग्यो । लिग–२ को अङ्कतालिकामा नेपाल १२ खेलबाट ६ अङ्क बटुल्दै पुछारबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया राख्नुहोस्