धादिङमा एउटै स्थानीय तहबाट ७ महिनामा सत्तरी करोड मूल्यका हरियो तरकारी बिक्री
धादिङ – धादिङको बेनी घाट रोराङ्ग गाउँपालिबाट किसानहरूले विगत ७ महिनामा एक करोड किलो हरियो तरकारी बिक्री गरेको कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था चरौदीले तथ्याङ्क सार्वजनिक गरेको छ ।
तरकारी बिक्रीबाट यसपालि किसानहरूले सत्तरी करोड भन्दा धेरै रकम गाउँ भित्र्याउन सफल भएका छन् । तरकारीको भाउ बढ्दा किसानहरूले गत वर्षको भन्दा राम्रो आम्दानी गरेका हुन्।
यसले एका तिर एक गाउँ एक उत्पादनलाई सहयोग पुगेको छ भने अर्को तिर किसानहरू तरकारी बिक्रीबाटै आत्मनिर्भर समेत बनेका छन् ।
चालु वर्ष २०८१ वैशाख महिना देखी असोज महिनासम्मको तथ्याङ्कलाई हेर्दा सो गाउँपालिकामा किसानहरूले यत्तिका धेरै हरियो तरकारी उत्पादन गरी बिक्री गर्न सफल भएका हुन् । अझै गएको असोज महिनाको वर्षाले धेरै तरकारी बालीमा क्षति पुर्याएको किसानहरू बत्ताउँदछन्। एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत स्थानीय तहले पनि तरकारी उत्पादनमा कृषकहरूलाई सहयोग गर्दै आएको छ ।
बेनी घाट रोराङ्ग गाउँपालिकाले किसानलाई तरकारीको बजारीकरणमा समेत सधाउँदै आएको छ।
किसानहरूले उत्पादन गरेको तरकारी सङ्कलन गरी बजार मूल्य अनुसार राजधानी काठमाडौँँ, चितवन र पोखरा लगायत धादिङका विभिन्न बजारहरूमा पठाउने गरेको स्थानीय जनप्रतिनिधिहरूको भनाई छ ।
आफ्नो स्थानीय तहले किसानहरूको कृषि उपज बिक्रीका लागी सहजी करण गरेको बताउँदै अझै उत्पादित हरियो तरकारीको समर्थ मूल्य समेत तोकिदिन सकेको खण्डमा किसानहरूलाई निकै सहज हुने भनाइ किसानहरूको छ।
तिनै तहको सरकारले किसानहरूको उत्पादन बिक्रीका लागी ठुला सहरहरूका तरकारी बजारहरूमा कृषि उपज सङ्कलन स्टलहरूको व्यवस्थाको माग समेत बेनी घाट रोराङ्ग गाउँपालिका स्थित वडा नम्बर ७ का वडा अध्यक्ष कुमार बस्नेतको गरेका छन् ।
जसले गर्दा उत्पादित तरकारी बिक्रीका लागी सहज हुने र कृषकहरूको आम्दानी बढाउन सहयोग पुग्ने भनाई छ । अहिले पनि दैनिक पच्चिस लाखको रुपैयाँ बराबरको हरियो तरकारी कृषि उपज सङ्कलन केन्द्रमा किसानहरूले बिक्रीका लागी ल्याउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्