जनकपुरधाममा बिबाहपञ्चमीको तयारी तीव्र
जनकपुरधाम – जनकपुरधाम सांचिक्कै देवभूमिको रूपमा परिणत भएको छ । मर्यादा पुरुषोत्तम भगवान् र आदर्श नारी सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा लाखौँको सङ्ख्यामा भक्तजन, श्रद्धालु र देशी विदेशी पर्यटकहरूको आगमन हुन लागेकोछ ।
विश्व हिन्दु परिषद्को नेतृत्वमा अयोध्याबाट जन्तीहरूको आगमन हिजो नै भइसकेको छ ।
आज जानकी मन्दिरबाट विशेष साज सज्जा र बाजागाजाका साथ महन्त को नेतृत्वमा मेवा मिष्टान्न फलफूल र लुगा कपडा सहितको भार सहितको कोसेली लिएर राम मन्दिर पुगेर तिलकोत्सव कार्यक्रम हुनेछ र सम्धी मिलन कार्यक्रम हुनेछ ।
भोली बिहीबार गंगासागरको महागङ्गा आरती घाटमा मटकोर हुनेछ भने शुक्रवार बिबाहपञ्चमीको दिन राम मन्दिरबाट बाजागाजा सहितको झाँकी मूर्ति र विशेष प्रकारले सज्जित डोलामा जानकी जी को मूर्ति, झाँकी र साधु सन्त श्रद्धालु सहितको डोला ऐतिहासिक रंगभूमी मैदानमा पुगेर मिलन र पूजाआजा हुनेछ ।
देवी देवताहरू पनि विभिन्न स्वरूप बनाएर वैवाहिक कार्यक्रममा सामेल भएको हुन्छ र त्यस बखत उपस्थित जनसमुदायले पनि देवलोक सँग साक्षात्कार भएको महसुस हुन्छ ।
विशेष रूपले सजाइएको जानकी मन्दिरमा सोही बेलुका मैथिली परम्परा अनुसार वैवाहिक रित्ती रिवाजका साथ भगवानको शुभ विवाह गराइनेछ ।
विभिन्न सामाजिक संघ संस्थाले आ आफ्नो स्थानबाट सेवामूलक कार्य – निःशुल्क भोजन, स्वास्थ्य शिविर, बास इत्यादिको कार्यक्रम गर्न लागेको छ ।
सरकारी स्तरबाट थप ठोस कार्यक्रम हुनु आवश्यक रहेको स्थानीय बासिन्दाहरूको भनाई रहेको छ । विवाह पञ्चमीको दिनलाई राष्ट्रिय पर्व मानेर बिदा दिनुपर्ने माग जनकपुर बासीको छ ।
प्रतिक्रिया राख्नुहोस्