पुस्तौँदेखि धमिलो पानी पिउँछन- नेप्काबासी
हुम्ला- चंखेली गाउँपालिका वडा नम्बर–५ स्थित नेप्का गाउँका स्थानीयबासीहरु वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य छन ।
१० बर्ष पहिले एउटा संस्थाले निर्माण गरेको खानेपानीको लाइन पहिरोले बगाएसँगै यहाँका ५७ घरधुरिका स्थानीय खोलाको धमिलो पानी पिउन बाध्य भएका हुन् ।
वर्षा याममा गाउँ नजिकैको खोलाको पानी पिउन योग्य हुँदैन।
बर्षा शुरु हुने वित्तिकै गाउँ नजिकैको खोलामा भल मिसिँदा खोला धमिलो हुन्छ । पानीको विकल्प नभएपछि उनीहरु यही धमिलो पानी पिउँछन।
हिँउदमा खोलाको पानी सङलो भएपनि मसिनो ढुङ्गा र बालुवाका कणहरु देखिन्छन ।
चंखेली गाँउपालिकाबाट हालसम्म करोडौं बजेट वडा नम्बर ५ मा गएपनि यहाँका जनप्रतिनिधिले चासो नदिएकोले आफूहरुले खोलाको धमिलो पानी पिउन परेको स्थानीय चक्र तामाङ बताउँछन ।
वडाका जनप्रतिनिधिहरुले खानेपानीको धारा निर्माण नगर्दा १० बर्षदेखि खोलाको धमिलो पानी पिउन बाध्य भएको तामाङको भनाइ छ ।
नेप्का गाउँमा ५६ घरधुरी जनजाती छन भने एक घरधुरी ठकुरी छन ।
उनीहरुले पुस्तौैदेखि धमिलो पानी पिउदै आएका छन । त्यसो त खानेपानीका लागि यहाँ धेरै विकल्पहरु छन तर त्यसतर्फ प्रतिनिधिको ध्यान नै छैन ।
गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं नेप्का वडा नम्बर ५ लाई मात्र करोडौं रकम बिनियोजन गरेको बताउनुहुन्छ । तर वडाका जनप्रतिनिधिहरुले नै विकासप्रति चासो नदेखाएको अध्यक्ष चौलागाई स्वीकार्नुहुन्छ ।
धमिलो पानीको प्रयोगका कारण स्थानीयबासीमा झाडापखाला,एलर्जी, टाईफाइड,निमोनिया जस्ता रोग लाग्ने गरेको छ ।
भौगोलिक विकटताको करण यो हुम्ला जिल्लाकै पिछडिएको क्षेत्र हो । नेप्का गाउँ त झन पिछडिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्