काँग्रेसद्वारा पीएल सिंहको निधनमा शोक प्रस्ताव पारित
काठमाडौं– नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख प्रेमलाल (पीएल) सिंहको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उहाँको निधनमा शोक प्रस्ताप पारित गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैगरी, बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य र जनसङ्ख्या तथा वातावरण पूर्वमन्त्रीसमेत रहनुभएका सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
त्यस्तै, पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, पुस २ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै मृतकप्रति श्रद्धाञ्जलीका साथै परिवारमा गहिरो शोक प्रकट गरेको छ । सिंहको आइतबार राति १ बजे चाक्सीबारीस्थित निवासमा निधन भएको थियो । उहाँ ८८ वर्षको हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्