कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं- उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए ।
एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले भन्नुभयो,“दुर्भाग्यवश, त्यहाँ कोही पनि बाँचेका छैनन् । हामीसँग साइटमा ३७ जना कर्मचारीहरू काम गरिरहेका छन् । प्रतिकूल मौसमी अवस्थाले रिकभरी प्रक्रियालाई जटिल बनाएको छ ।”
“हामीले यो प्रक्रियालाई सकेसम्म छिटो र प्रभावकारी बनाउन प्रयास गरिरहेका छौं,” उहाँले थप्नुभयो ।
प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । “हामी सधैं तिनीहरूको साथमा रहनेछौं । यस दुखद घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौं ।”
प्रतिक्रिया राख्नुहोस्