साताको अन्तिम कारोबारः सामान्य अंक घट्यो नेप्से
काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो ।
आज नेप्से परिसूचक ७.३३ अंक घटेर २५८८.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार बुधबार ५ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९६ स्टकको ७० हजार ६३४ पटकको कारोबारमा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँबराबरको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बोटलर्स नेपाल (बालाजु) विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको पोखरा फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । त्यस्तै, जानकी फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा आज सिन्धु विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २८ करोड ५७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको करिब १४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशत बढेको छ । बाँकी ४ उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ५.१९ प्रतिशत घटेको छ ।
प्रतिक्रिया राख्नुहोस्