डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मीसहितको प्राविधिक टोली परिचालन
काभ्रे – जिल्लाका विभिन्न स्थानमा डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मीसहितको प्राविधिक टोली खटाइएको छ ।
खानी खोला र बेथानचोक गाउँपालिकाको सिमाना थामको लेक क्षेत्रमा लागेको डढेलो बढ्दै गएपछि मानव बस्ती जोगाउनको लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसहितका सुरक्षाकर्मी र प्राविधिक जनशक्ति समेत परिचालन गरिएको हो ।
हिजो बसेको जिल्ला वन सुरक्षा समितिको बैठकले जोखिममा रहने मानव वस्ती जोगाउन र जोखिम न्यूनीकरणको लागि लागि सुरक्षाकर्मी, वन कर्मचारी, वन समूह परिचालन गर्ने, विभिन्न वन क्षेत्रमा अग्नीरेखा (फायर लाइन) बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय काभ्रेका सूचना अधिकारी सरिता लामाका अनुसार, वन डढेलो लगाउने व्यक्ति पहिचान गरी कानुनी कारबाही गर्ने, वन कार्यालयको संयोजकत्वमा सबै स्थानीय तह, सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घ र सम्बन्धित सरोकारवालासँग वन डढेलो नियन्त्रण पुर्व तयारी बैठक गर्ने निर्णय बैठकले गरेको छ ।
जिल्लाको खानी खोला र बेथाचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत शृङ्खलाको थाम लेक क्षेत्रमा रहेको सामुदायिक वनमा मङ्गलवार देखी लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । भिरालो संरचनामा लागेको डढेलो निभाउन परिचालन हुन समेत कठिन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काले जानकारी दिइन् ।
स्थानीयहरूका अनुसार आज आगलागी केही कम भएको बत्ताउँछन् । बेथानचोक गाउँपालिकाले एक सूचना जारी गरेर वडा नं ३ स्थित नारायण स्थान क्षेत्र आसपास डढेलो लागेकोले यात्रा नगर्न सचेत गराएको छ ।
यता, भूम्लु गाउँपालिका वडा नं ४ स्थित धारा पानी सामुदायिक वन र वडा नं ६ स्थित चापानीगढी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आइसकेको सब डिभिजन वन कार्यालय चौबासले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्