नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो २ बजे बैठक बस्ने कार्यक्रम तय भएको छ ।
बैठकले संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्ने सो पार्टीले जनाएको छ । सरकारले ल्याएका अध्यादेश, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि बैठकमा छलफल हुने बताईएको छ ।
आगामी माघ १८ गतेबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नुभएको छ ।
यसैबीच सिंहदरबारमा हिजो बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र कांग्रेस पार्टीबाट सरकारमा सलंग्न मन्त्रीहरुसहितको बैठकले सदनमा अध्यादेशको पक्षमा एकढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको थियो ।
बैठकले अध्यादेशका बारेका आफ्ना सांसदहरुसंग सघनरुपमा छलफल गरेर सदनमा प्रस्तुत हुने निर्णय गरेको हो । बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन अध्यादेश ल्याइएको जानकारी गराएका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।
बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारमा गएका मन्त्रीहरुलाई केही समस्या भए पार्टीमा कुरा राख्न निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्