बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, परीक्षण वितरण सुरु

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा हिजो बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो ।
पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको र करिब २० घण्टापछि मर्मत सकिएको उहाको भनाइ थियो ।
अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने निर्देशक पौडेलले बताउनुभयो ।
विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग आवश्यक समन्वय गरी काम गर्नुपर्नेमा मन्त्री यादवले जोड दिँदै आउनुभएको छ ।
बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो ।।






प्रतिक्रिया राख्नुहोस्