एमसीसी परियोजनामा बन्ने प्रसारण लाइनको मुआब्जा वितरण अन्तिम चरणमा
तारमुनिको जग्गाको पनि मुआब्जा माग

पश्चिम नवलपरासी- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत बन्ने प्रसारण लाइनका लागि पश्चिम नवलपरासीमा टावर रहने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ ।
साढे २१ करोड मुआब्जा मध्ये ७ करोड मात्र भुक्तानी बाँकी छ ।
१ सय २४ जनाले मुआब्जा पाउनुपर्नेमा ९४ जनाको खातामा पैसा गइसकेको छ ।
बाँकी भुक्तानी पनि जग्गाधनीकै समस्याका कारण बाँकी रहेको एमसीए नेपालले जनाएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) अन्तर्गत बन्ने प्रसारणलाइनका लागि टावर निर्माण गर्न जग्गाको अवस्था हेरिकन प्रतिकठ्ठा ९ लाख १४ हजार देखि ७३ लाख ६७ हजार सम्म रकम भुक्तानी गरिएको छ ।
साना ठूला दुई प्रकारका टावर निर्माणका लागी १ कठ्ठा ८ धुर देखि २ कठ्ठा सम्म जग्गा अधिग्रहण गरिएको छ । लप्सीफेदिबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन अन्तर्गत नवलपरासीमा पर्ने ३३ किलोमिटर प्रसारणलाइनका लागि १ सय २ वटा टावर निर्माण हुने छ ।
जसमध्ये सुनवल सुर्यबस्तीमा रहेको सवस्टेशनदेखि पाल्हीनन्दनसम्म कुल १८ दशमलव २ किलोमिटरमा बन्ने ५४ वटा टावरको मात्र मुआब्जा वितरण भएको हो ।
टावर रहने स्थानको मुआब्जा टुङ्गो लागेर वितरण भइरहेपनि तारमुनिको जग्गाको भने क्षतिपुर्ति मूल्याकंन हुन बाँकी छ । जसका लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मूल्याकंन समिति बनेकाले ३५ दिन भित्र तारमुनिको जग्गाको मूल्याकंन गरी क्षतिपुर्ति सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताउनुभयो ।
यसैबिच तारमुनिको जग्गाको मूल्याकंन नहुँदै जग्गाधनीहरू भने जग्गाको क्षतिपुर्ति नभई जग्गाको मुआब्जा पाउनुपर्ने भन्दै स्थानीय तहमाथि दबाब सृजना गर्न थालेका छन् ।
किसान सङ्घर्ष समिति बनाएर हाइटेन्सन लाइनको तारमुनि जग्गा पर्ने जग्गाधनीहरूले टावरको जग्गा जस्तै आफूहरूले पनि पुरा क्षतिपुर्ति पाउनुपर्ने माग गरेका छन् ।
रामग्राम नगरपालिकामा जनप्रतिनिधि सहितको टोलीसँग भएको छलफलमा जग्गाधनीहरूले तारमुनिको जग्गाको उपयोगिता नहुने भन्दै क्षतिपुर्ति नभए मुआब्जा दिनुपर्नेमा माग गरेका हुन् ।
सङ्घर्ष समितिका अध्यक्ष मनोज मौर्यले स्थानीय तहका जनप्रतिनिधिले यसमा भूमिका खेल्नुपर्ने भन्दै उचित क्षतिपुर्ति पाउनुपर्ने माग गर्नुभयो ।
सो क्रममा नगर प्रमुख धनपत यादवले जग्गाको खनजोत गर्दे आएको र त्यही जग्गाको भरमा जिविकोपार्जन गर्दे आएका किसानहरू मारमा पर्ने विषयमा आफू जानकार रहेको बताउँदै नगर प्रमुख यादवले बढि भन्दा बढि क्षतिपुर्तिका लागी पहल भइरहेको बताउनुभयो ।
बर्दघाटदेखि पाल्हीनन्दनसम्म विस्तार हुने प्रसारण लाइनको तारमुनि ९ सय ५० जनाको जग्गा पर्ने बताइएको छ ।।






प्रतिक्रिया राख्नुहोस्