रौतहटमा देशकै सबभन्दा ठुलो काठको फर्निचर मेला सुरु

रौतहट –  प्रत्येक वर्ष झैँ यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठुलो काठको फर्निचर मेला सुरु भएको छ ।

श्री पञ्चमीको अवसरमा नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा जिल्लाको मध्य भाग जयनगरमा काठको ठुलो फर्निचर मेला लागेको हो । गरुडा नगरपालिका–१ जयनगरमा प्रत्येक वर्ष श्री पञ्चमी देखी सुरु भई झन्डै दुई महिना सम्म लाग्दै आएको फर्निचर मेला यस वर्ष पनि लागेको छ ।

गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत गरुडा बजारभन्दा तिन किलोमिटर दक्षिण ग्रामीण क्षेत्र जयनगरमा लागेको फर्निचर मेला सम्भवतः देशकै ठुलो ग्रामीण फर्निचर मेला हो । मेलामा घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ ।

मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सा लगायत जिल्लाका फर्निचर व्यवसायीहरूले अत्यधिक मात्रामा फर्निचर र फलामका सामग्री बिक्रीका लागि ल्याएका छन् ।

मेलामा बक्स पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चरपाई, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, ढोका, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करिब सबै काठका फर्निचर सामग्री मेलामा ल्याइएको छ भने फलामको कोदालो, हँसिया, कुटो, बन्चरो, खुकुरी लगाएका सामग्री पनि बिक्रीका लागि राखिएको छ ।

देशका विभिन्न भागबाट मेलामा फर्निचर आउने क्रम अझै जारी नै रहेको छ । हरेक वर्ष फर्निचर मेलामा व्यापार बढ्दै जाँदा फर्निचर व्यवसायी पनि उत्साहित हुँदै गएका छन् । दुई सयभन्दा बढी व्यवसायीले हरेक वर्ष मेलामा फर्निचर ल्याउने गरेका छन् ।

मेलामा फर्निचर सस्तो पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको छ । अहोरात्र सम्म खटेर मेहनतका साथै लोहार जातीले बनाएको फर्निचरका सामग्री अहिले मेलामा ल्याएर बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । हरेक वर्ष मेलाको विस्तार भइरहेकोले मेलालाई थप व्यवस्थित पार्ने प्रयास भइरहेको समितिको भनाइ छ ।

मेलाबाट नेपालको रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीता मढी, पूर्वी चम्पा रण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको मेला समितिले जनाएको छ ।

मेलामा यस वर्ष पाँच करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ । समितिका अनुसार गत वर्ष ३ करोडको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यवसायीको सङ्ख्या बढेको र अवलोकनकर्ताको सङ्ख्यासमेत बढ्ने देखिएकोले ५ करोडसम्मको कारोबार हुने पूर्व अनुमान गरिएको छ ।

२०६५ साल देखी नै प्रत्येक वर्ष लाग्दै आइरहेको मेलाको प्रत्येक वर्ष विस्तार हुँदै गएकोले कारोबार पनि बढ्दै गएको समितिले जनाएको छ ।

यातायातको सुविधा भएको र तुलनात्मकता फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ उठाइरहेको समितिको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.