म्याग्दीको दानामा भ्यान दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

  म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको सुके बगरमा बुधवार दिउँसो भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दानाको जलथलेस्थित सुके बगरबाट नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४६४४ नम्बरको भ्यान सडकबाट तल खस्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

चालकले नियन्त्रण गुमाउँदा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको भ्यान दुर्घटनामा परेर भ्यानका चालक अन्नपूर्ण–४, घरापकी ४० बर्सिया सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । भ्यान दुर्घटनामा परेर अन्नपूर्ण–४, घरापकी ४० बर्सिया नमिता चोचाङ्गे र ५० बर्सिया रुपा पुनको टाउकोमा चोट लागेको उहाँले बताउनुभयो ।

टाउकोमा चोट लागेको चोचाङ्गे र पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसै गरी दुर्घटनामा परी सोही ठाउँकी ५२ बर्सिया विष्णु बुढाथोकीको शरीरको विभिन्न भागमा चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

घाइतेको उद्धार गरी उपचारका लागि बेनी अस्पताल पठाइएको छ भने भ्यानमा चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.