अनुमति नलिई सञ्चालित दुई अस्पतालमा  शिलवन्दी

नुवाकोट- बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटका विभिन्न  बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुई वटा अस्पताल सिल लगाई बन्द गरिनुका साथै अखाद्य वस्तु जफत गरिएको छ ।

संयुक्त बजार अनुगमन टोलीले मङ्गलवार नुवाकोटको पूर्वी भेगमा रहेको तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको विभिन्न बजारमा रहेका अस्पताल, किराना पसल, भेटेरिनरी तथा खाद्यान्न सप्लायर्सहरुको  स्थलगत अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँको नेतृत्वमा गएको संयुक्त टोलीले विभिन्न ११ वटा अस्पताल तथा पसलहरूमा अनुगमन गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ ।

संयुक्त बजार अनुगमन समितिद्वारा तादी गापा ३ खरानी टार, तादी ४ सातविसे, दुप्चेश्वर ६ र पञ्चकन्या गापा २ सहरे टार संयुक्त बजार अनुगमन गरिएको हो । टोलीले तीन वटा अस्पताल, चार वटा किराना तथा खाद्यान्न पसल, चार वटा भेटेरिनरी पसल अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दुई वटा अस्पताल दर्ता नभई सञ्चालन भएको पाइएपछि तत्काल सिल लगाएर बन्द गरिएको अनुगमनका सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार तादी ४ सातविसेस्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रा।लि दर्ता नै नगरी सञ्चालन गरिएको पाइएपछि जरिवाना गरिनुका साथै तत्काल बन्द गरिएको छ ।

सो अस्पताल सिल लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै पञ्चकन्या गापा २ सहरेटारमा रहेको माइकल डायनोष्टिक अस्पताल दर्ता नै नगरी सञ्चालन गरिएपछि बन्द गरिएको अधिकृत सापकोटाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा किराना तथा खाद्यान्न पसलहरूमा अखाद्य वस्तु फेला परेपछि जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईँको नेतृत्वमा जिल्ला बजार अनुगमन समितिद्वारा सर्वसाधारण उपभोक्तासँग सरोकार रहेको अस्पताल तथा पसलहरूको स्थलगत  अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पसलमा बिलबिजक अद्यावधिक नगरिएको र  आवश्यक कागजात उपलब्ध गराउन नसकेको पाइएको छ । साथै अनुगमनमा बिक्रीका लागि राखिएका बस्तुको म्याद, व्यवसाय दर्ता, नवीकरण, कारोबारका लागि इजाजत लिए, नलिएको र सुर्तीजन्य पदार्थको कारोबार सम्बन्धी नियम कार्यान्वयन गरे नगरेको विषयमा अनुगमन गरिएको थियो ।

अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटा, जनस्वास्थ्य कार्यालयका प्रतिनिधिलगायतले अस्पताल, खाद्यान्न, किराना, भेटेरिनरी पसलहरुर्मा  दर्ता तथा नवीकरण गरे नगरेको अनुगमनको साथै उक्त सम्बन्धी जानकारी गराएको थियो ।

सुरक्षाकर्मीसहित पुगेको अनुगमन टोलीले  तादीको सातविसेमा अनुमति बिना सञ्चालित दुप्चेश्वर नेपाल अस्पताल प्रा।लिलाई सिल गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले अस्पतालको कम्पनी दर्तासम्बन्धी कुनै कागजात फेला नपरेपछि तत्काल अस्पताल सिल गरेको हो ।

अस्पताल सञ्चालक अनुगमन टोली पुगेको जानकारी पाएपछि फरार भएका थिए । अनुमतिबिना अस्पताल सञ्चालन गरिएको पाइयो, प्यान नम्बर नक्कली रहेको, कम्पनी दर्ता कागजात फेला नपरेको पाइएको अनुगमनमा सहभागी टोलले जनाएको छ ।

सिल लगाउने कार्यमा प्रशासन, स्वास्थ्य कार्यालय, तथा अन्य निकायको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा अस्पतालका विभिन्न कागजात जाँच गर्दा वैधानिक प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको पुष्टि भएपछि कानुनी कारबाही अघि बढाइएको  नुवाकोट प्रशासनले जनाएको छ ।

अधिकृत किशोर सापकोटाका अनुसार अन्य किराना पसल तथा सप्लायर्सलाई भने पहिलो पटक सचेत गराई सुधार गर्ने आवश्यक निर्देशन दिइएको छ । सरोकारवालासहितको संयुक्त बजार अनुगमन टोलीले  अनुगमनका क्रममा सात हजार रुपैयाँ बराबरको अखाद्य वस्तु फेला परेपछि त्यसलाई नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायले न्यूनतम मापदण्डसमेत पुरा नगरेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष  इन्द्रबहादुर पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार पसलमा मुल्यसुचि नराखेको, विलविजक जारी र नवीकरण नगरेको पाइएको थियो ।

अनुगमनका क्रममा अधिकांश पसल मापदण्ड विपरीत रहेको पाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।  अधिकांश पसलहरू मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको र पहिलो पटकलाई सचेत गराइएको टोलीका संयोजकसमेत रहेका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईँले वताउनुभयो।

पसल व्यवसायमा मुल्यसुचि, खरिद तथा बिक्री विल, साइनवोर्ड लगायत मापदण्डको पालना गर्न सचेत गराइएको छ ।  जनगुनासो धेरै आएपछि चाडपर्वको समयमा अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

पसल तथा व्यवसायमा मूल्य सूची राख्न र म्याद नाघेका सामानहरूको पहिचान गरेर छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा टोलीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न, पसलको सरसफाइमा ध्यान दिन र सुरक्षित रूपमा सामग्री राख्न सुझाव दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँ, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख किशोर सापकोटा, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डित,  स्वास्थ्य  तथा अन्य सरोकारवाला कार्यालयका  प्रमुख तथा प्रतिनिधिहरूको टोलीले अनुगमन गरेको हो । आम उपभोक्ताहरूले भने बजार अनुगमन कार्यलाई महिना तथा दुई महिनामा एक पटक निरन्तर गर्न माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.