सडक बत्तीको महसुल तिर्न स्थानीय तहको अटेर

सुनसरी- नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका अनुसार इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकाले वर्षौंदेखि सडक बत्तिको महसुल नतिरेका कारण बक्यौता रकम ५ करोड ९१ लाख रुपैयाँ भन्दा बढी पुगेको छ ।

इटहरी उपमहानगरपालिकाले मात्र ३ करोड ७७ लाख ४० हजार ४१७ रुपैयाँ तिर्न बाँकी रहेको छ, जबकि बराहक्षेत्र नगरपालिकाको बक्यौता १ करोड ३५ लाख २५ हजार ६२७ रुपैयाँ र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार रुपैयाँ तिर्न बाँकी छ ।

प्राधिकरणको निरन्तर प्रयास, तर स्थानीय तहको बेवास्ता

इटहरी वितरण केन्द्रका प्रमुख राम उदगार साहका अनुसार प्राधिकरणले बारम्बार पत्र पठाउँदा पनि स्थानीय तहहरूले कुनै चासो नदेखाएको गुनासो छ । स्थानिय तहको निर्वाचनपछि बनेका नयाँ सरकारहरूले महसुल बुझाउन कुनै गम्भीरता नदेखाएको साहको भनाई छ ।

सडक बत्तीका लागि प्राधिकरणले प्रत्येक महिना बिल पठाउने गरेको छ, तर अहिलेसम्म कुनै पालिकाबाट प्रतिक्रिया नआएको साहले बताउनुभयो । “चार महिनासम्म महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिन्छ, तर पालिकाहरूले वर्षौंसम्म पनि नतिर्दा हामी असहज अवस्थामा छौं ।” साहको भनाई छ ।

लाइन काट्ने चेतावनी

केन्द्रिय कार्यालयबाट निर्देशन आएमा तत्काल विद्युत लाइन काटिने चेतावनी दिँदै साहले भन्नुभयो- “हामीले अधिकतम सहनशीलता देखाइसकेका छौं । अब पनि पालिकाहरूले बक्यौता नतिरे कडाभन्दा कडा कदम चाल्न बाध्य हुनेछौं ।”

समस्या समाधानका लागि संवादको आवश्यकता

विशेषगरी सडक बत्ती सर्वसाधारणका लागि आवश्यक सेवा भएकाले विद्युत आपूर्ति अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सास्ती भोग्नुपर्ने हुन्छ । यसकारण स्थानीय तह र प्राधिकरणबीच तत्काल संवाद गरेर समस्या समाधान गर्नु अत्यावश्यक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.