बेथान चोकका किसानलाई व्यवसाय सञ्चालन गर्न ५ प्रतिशत ब्याज अनुदान

काभ्रे – काभ्रेपलान्चोक जिल्लाको बेथान चोक गाउँपालिकाका किसानलाई व्यवसाय सञ्चालन गर्न ५ प्रतिशत ब्याज अनुदान प्रदान गरिने भएको छ । कृषि व्यवसाय सञ्चालन गर्नको लागि कृषिलाई ब्याजमा अनुदान प्रदान गर्न बेथान चोक गाउँपालिका र जिल्ला स्थित बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबिच सम्झौता भएको हो ।

बेथा चोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी र बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शान्त कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुई पक्षबिच बुधवार १६ बुँदामा सहमति भई सम्झौता भएको हो । पालिकाले आ.व. २०८१÷०८२ देखि पालिकाका बासिन्दालाई उद्यमशीलता विकास गरी व्यावसायिक बनाउन अधिकतम ५ वर्ष अवधिको लागि प्रति घरधुरी अधिकतम रु २० लाख रुपैयाँ ऋण रकम सम्म सहुलियत व्याज अनुदान ऋण प्रदान गर्ने र बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहुलियत ब्याज अनुदान ऋण लगानी गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता अनुसार, उक्त कार्यक्रमका लागि गाउँपालिकाले ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ भने व्यवसाय गर्नेले ४ प्रतिशत ब्याज तिर्नु पर्नेछ ।

बेथा चोक गाउँपालिकालाई कृषिमा आत्मनिर्भर भएको पालिकाको रूपमा चिनिने र यहाँका अधिकांश किसान कृषिमा आबद्ध भएकाले कृषि प्रवर्द्धन गर्नको लागि यस कार्यक्रम सञ्चालन गर्न लागिएको बेथा चोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए । असोज दोस्रो साताको भारी वर्षासँगको बाढी पहिरोले काभ्रेमा बेथा चोक गाउँपालिकामा कृषिमा धेरै क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.