सार्वजनिक बिदा बाहेकका सबै दिनमा संसद बैठक सञ्चालन गरिने

काठमाडौँ- सभामुख र प्रमुख सचेतकबीचको बैठकले सार्वजनिक विदा बाहेक अन्य सवै दिन संसद बैठक संचालन गर्ने निर्णय गरेको छ । सभामुखको कार्यकक्ष सिंहदरमा आज भएको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको थियो ।
बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । बैठकमा सभामुख घिमिरेले भन्नुभयो– संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ ।
विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ ।
उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं । समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ ।
निजामति विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामति लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ ।






प्रतिक्रिया राख्नुहोस्