भुम्लु गाउँपालिकामा विपद् व्यवस्थापन बैठक सम्पन्न, जोखिम न्यूनीकरणमा जोड

काभ्रे –  भुम्लु गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठक आज गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ।

बैठकमा विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण र आपत्कालीन उद्धार तथा राहत व्यवस्थापनका विषयमा व्यापक छलफल गरिएको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बैठकलाई सम्बोधन गर्दै विपद् व्यवस्थापनमा सामूहिक सहभागिता आवश्यक रहेको बत्ताउनुभयो ।

“विपद् आउनु पूर्व नै तयारी गर्नु सबैभन्दा महत्त्वपूर्ण हो,” अध्यक्षले भन्नुभयो, “गाउँपालिकाले प्रत्येक वडामा आपत्कालीन पूर्व तयारी योजना बनाउने कार्य अघि बढाउनेछ।”

त्यस्तै उपाध्यक्ष जितेन्द्रमान तामाङले विपद् पूर्वतयारलाई प्राथमिकतामा राख्दै समुदाय स्तरबाट सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “विपद् भनेको केवल प्राकृतिक मात्र होइन, मानव जनित समस्याहरू पनि उत्तिकै खतरनाक हुन्छन्। त्यसैले समयमै सतर्कता अपनाउन, चेतनामूलक कार्यक्रम गर्न र वडा स्तरमै विपद् जोखिम न्यूनीकरण योजना बनाउन जरुरी छ।”

विपद्का समयमा महिला, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तिहरू विशेष रूपमा जोखिममा पर्ने भएकाले उनीहरूलाई लक्षित कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए। “हामीले समावेशी दृष्टिकोणबाट विपद् व्यवस्थापन योजना बनाउनुपर्छ,” उहाँले भन्नुभयो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्रीले विपद् व्यवस्थापनलाई संस्थागत बनाउन आवश्यक कानुनी प्रक्रिया र समन्वय पक्षलाई प्रभावकारी बनाउनेमा जोड दिनुभयो।

“विपद् व्यवस्थापन केवल कागजमा सीमित नहोस्, व्यवहारमा कार्यान्वयन होस् भनेर हामीले प्रशासनिक पक्षबाट पूर्ण सहयोग गर्नेछौँ,” उहाँले भन्नुभयो।  स्रोत र साधनको दिगो व्यवस्थापनका लागि स्थानीय तहबिच आपसी समन्वय आवश्यक रहेको उहाँको भनाई थियो।

बैठकमा विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि,सुरक्षाकर्मी, स्थानीय सङ्घसंस्था, रेडक्रस, स्वास्थ्य संस्था,प्राविधिक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले स्थानीय स्तरमा तात्कालिक राहतको सामग्री भण्डारण, जोखिमयुक्त क्षेत्रको पहिचान, जनचेतना अभिवृद्धि कार्यक्रम र तालिमहरू सञ्चालन गर्न सुझाव दिनुभएको थियो । बैठकको निष्कर्ष स्वरूप गाउँपालिकाले विपद् व्यवस्थापन तथा उद्धारको लागि कार्य योजना तयार पार्ने, वडा स्तरीय विपद् समिति सक्रिय बनाउने, र आवश्यक स्रोत साधनको सुनिश्चितता गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.