पिएसबीको केन्द्रमा जनता र राष्ट्रिय एकता हुनुपर्छ: सञ्चारमन्त्री गुरुङ्ग

काठमाडौँ- सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमलाई कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गर्नुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी)ले आज नेपाल टेलिभिजनमा ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहसः विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणले नेपाली जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिनुभयो ।

पिएसबीले उठान गर्ने मुद्दाहरुमा राष्ट्रिय एकताको भाव जगाउने, जनताको दुःख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्‍याउने खालका विषयवस्तु हुनुपर्ने मन्त्री गुरुङको भनाइ थियो ।

कार्यक्रममा मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले मुलुकको विकास तथा समृद्धि, राष्ट्रिय एकताको प्रवर्द्धन र धार्मिक, सांस्कृतिक, साम्प्रदायिक र भाषिक सहिष्णुतालाई अभिवृद्धि गर्न प्रसारण केन्द्रित हुनुपर्छ, भन्नुभयो ।

रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै चित्त बुझाउन नमिल्ने भन्दै मन्त्री गुरुङले अब युग अनुकुलको कार्य सम्पादन गरेर प्रतिस्पर्धामा उत्रिन निर्देशन दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले पिएसबीको सही मोडल अनुसारका कार्य गर्न सुझाव दिनुभयो । उहाँले संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन र दुई संस्था अहिले एक भएपनि व्यवहारमा त्यसको अनुभूति हुने गरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जनता पहिलो भन्ने भावका साथ पिएसबीका हरेक कार्यक्रम सिर्जना गरिने तयारी गरिएको भन्दै यसका लागि विज्ञहरुसँग छलफल गरिएको बताउनुभयो ।  नेपाल टेलिभिजन र रेडियो नेपाल अब जनताको आवाज मुखरित गर्न कटिबद्ध हुने अध्यक्ष विष्टको भनाइ थियो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले रूपान्तरण बहस कार्यक्रमबाट संस्थाको बजार व्यवस्थापन र विषय सामग्रीमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.