नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने मन्त्री पाण्डेकाे उद्घोष

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को भव्य उद्घाटन गर्नुभएको छ।
काठमाडौँमा शुक्रवार बीआईटीएम २०२५ को उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । “बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,” मन्त्री पाण्डेले भन्नुभयो ।
त्यसै गरी मन्त्री पाण्डेले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति सहर’का रूपमा विकास गर्ने समेत बताउनुभएको छ । उहाँले भन्नुभयो, “बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरको रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ । त्यसै गरी लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देव दह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको छ ।”
मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेकोसमेत बताउनुभएको छ ।
मन्त्री पाण्डेले थप्नुभयो,”युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरेका छौं । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको छ ।”
मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्