समयमा नै काम सक्न ऊर्जा मन्त्री खड्काको निर्देशन

रामेछाप – ऊर्जा , जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सुनकोसी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम समयमा नै सक्नका लागि निर्देशन दिनु भएको छ ।
आयोजनाको ड्याम साइडको अनुगमनका लागि आइतबार रामेछाप आई पुग्नु भएका मन्त्री खड्काले राष्ट्रिय गौरवको आयोजनाको काममा ढिलाइ नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिनु भएको हो । ड्याम साइडको निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनी पटेल इन्जिनियरिङ र रमन कन्स्ट्रक्सन ढिला काम गरेको भन्दै मन्त्री खड्काले समयमा नै ड्याम निर्माणको काम सक्नका लागि निर्देशन दिनु भएको हो ।
मन्त्रालय , निर्माण कम्पनी तथा सरोकारवाला अन्य निकायको समेत सहभागितामा भएको छलफल कार्यक्रममा मन्त्री खड्काले समयमा नै काम सकिदा सरकार र निर्माण कम्पनी दुबैलाई राम्रो हुने भन्दै यसका लागि सरकारका तर्फबाट गर्नु पर्ने सबै सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो ।
१४ अर्बको लागतमा निर्माण सम्पन्न हुने उक्त ड्याम साइडको काम अहिले सम्म जम्मा ७ प्रतिशत मात्र भएको मन्त्रालयले जनाएको छ । ४ वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको भए पनि काम सुरु भएको २ वर्ष बितिसक्दा पनि अत्यन्तै न्यून काम भएकाले सरकारको टोली मन्त्री सहित अनुगमनका लागि फिल्डमा नै आएको थियो । निर्माण कार्यमा संलग्न निर्माण व्यवसायी रमण महतोले भने सरकारले आफूलाई केही समयका लागि काम गर्ने अवधि थप गर्नु पर्ने बताउनु भयो । निर्माण कम्पनीले ७ सय दिन म्याद थप्न मन्त्रालयसँग अनुरोध गरेको भए पनि उक्त कुरा सम्भव नभएको ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्